सिमित बेटा परीक्षणपछि सामाजिक सञ्जाल प्लेटफर्म ब्लुस्काईले स्ट्रिमरहरूका लागि ‘लाइभ नाउ’ ब्याज सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्ने गरी सार्वजनिक गरेको छ । यो फिचर ब्लुस्काईको v1.114 अपडेट अन्तर्गत ल्याइएको हो, जससँगै ‘क्यासट्याग’ नामक अर्को नयाँ सुविधा पनि समावेश गरिएको छ।
ब्लुस्काईले पहिलो पटक सन् २०२५ मे महिनामा एनबीएको आधिकारिक खाता लगायत केही सीमित अकाउन्टमार्फत ‘लाइभ नाउ’ ब्याज परीक्षण सुरु गरेको थियो। यो फिचरले ट्विचमा स्ट्रिम गर्ने प्रयोगकर्तालाई आफ्नो ब्लुस्काई प्रोफाइल तस्वीरमा ‘लाइभ नाउ’ ब्याज देखाउने सुविधा दिन्छ, जसबाट सोझै लाइभ स्ट्रिममा पुग्न सकिन्छ।
हालका लागि यो ब्याज ट्विच लिङ्कमा मात्र सीमित रहेको भए पनि ब्लुस्काईले भविष्यमा अन्य स्ट्रिमिङ प्लेटफर्महरूलाई समेत समर्थन गर्ने संकेत दिएको छ। बेटा परीक्षणबाट प्राप्त अनुभवका आधारमा अन्य प्लेटफर्महरू थपिने ब्लुस्काईको भनाइ छ।
प्रयोगकर्तालाई अन्य सामाजिक प्लेटफर्मतर्फ सजिलै लिंक गर्न दिनु सामान्य अवधारणा भए पनि प्रतिस्पर्धी प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले विगतमा बाह्य लिंकहरूमा प्रतिबन्ध लगाउने प्रयास गरेकाले ब्लुस्काईले यसको ठीक उल्टो नीति अपनाएको जनाएको छ।
क्यासट्याग फिचर
ब्लुस्काईले नयाँ अपडेटमार्फत ‘क्यासट्याग’ फिचर पनि ल्याएको छ, जुन पहिले एलन मस्कपूर्वको ट्विटरमा लोकप्रिय सुविधा थियो। क्यासट्याग ह्यासट्याग जस्तै काम गर्छ, तर यो विशेष रूपमा सार्वजनिक रूपमा कारोबार हुने कम्पनीसम्बन्धी कुराकानीलाई चिन्हित गर्न प्रयोग गरिन्छ।
ब्लुस्काईमा कुनै पोस्टमा डलर चिन्ह ($) पछि कम्पनीको स्टक संक्षेप (जस्तै, एप्पलका लागि $AAPL) लेख्दा क्यासट्याग सक्रिय हुन्छ। यसले सोही क्यासट्याग प्रयोग गरिएका अन्य पोस्टहरूसँग लिंक गर्छ, जसबाट खोज वा ट्यापमार्फत सजिलै पहुँच गर्न सकिन्छ।
हालसम्म ब्लुस्काईको प्रयोगकर्ता समुदाय व्यवसाय–केन्द्रितभन्दा बढी सामाजिक र क्रिएटर–केन्द्रित देखिए पनि यो फिचरले भविष्यमा एक्स (X) बाट सर्ने प्रयोगकर्ताहरूका लागि आवश्यक विकल्प उपलब्ध गराउने संकेत गरेको छ।
नयाँ फिचरहरूसँगै ब्लुस्काईले आफूलाई खुला, लिंक–मैत्री र क्रिएटर–अनुकूल सामाजिक प्लेटफर्मका रूपमा थप मजबुत बनाउने प्रयास गरिरहेको देखिन्छ।
आईसीटी समाचार