टिकटकले युरोपभर आफ्ना उमेर प्रमाणीकरण कडा बनाउने घोषणा गरेको छ। कम्पनीले आउँदो केही हप्ताभित्र युरोपियन इकोनोमिक एरिया (EEA), बेलायत र स्विट्जरल्यान्डमा अपग्रेड गरिएको उमेर पहिचान प्रविधि लागू गर्ने जनाएको छ।
नयाँ प्रणालीले प्रयोगकर्ताको प्रोफाइल जानकारी र गतिविधिका आधारमा उनीहरूको सम्भावित उमेर मूल्यांकन गर्नेछ। यदि कुनै अकाउन्ट १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशंका देखिएमा (टिकटक प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष हो), उक्त अकाउन्टमाथि विशेषज्ञ मोडरेटरले समीक्षा गर्नेछ र आवश्यक ठानेमा प्रतिबन्ध लगाइनेछ।
यी उपायबारे युरोपका प्रयोगकर्तालाई सूचनामार्फत जानकारी दिइने र थप विवरण बुझ्ने अवसर पनि प्रदान गरिनेछ। त्यस्तै, यदि मोडरेटरले अन्य कारणले सामग्री समीक्षा गर्दा कुनै अकाउन्ट नाबालक प्रयोगकर्ताको हुन सक्ने देखेमा, त्यो अकाउन्टलाई पनि थप जाँचका लागि विशेषज्ञकहाँ पठाउन सकिनेछ। साथै, सामान्य प्रयोगकर्ताले पनि १३ वर्षभन्दा कम उमेरका व्यक्तिले चलाइरहेको आशंका लागेको अकाउन्ट रिपोर्ट गर्न सक्नेछन्।
टिकटकका अनुसार उसले प्रत्येक महिना औसतमा करिब ६० लाख नाबालक अकाउन्टहरू हटाउने गरेको छ। प्रतिबन्ध गरिएका अकाउन्टका प्रयोगकर्ताले यदि आफ्नो पहुँच गलत रूपमा बन्द गरिएको ठानेमा अपिल गर्न सक्ने व्यवस्था पनि छ। अपिलका क्रममा प्रयोगकर्ताले सरकारी मान्यताप्राप्त परिचयपत्र, क्रेडिट कार्ड प्रमाणीकरण वा सेल्फीमार्फत उमेर अनुमान गराउन सक्नेछन्। यद्यपि, यस्तै सेल्फी–आधारित उमेर जाँच प्रणाली रोब्लक्स जस्ता प्लेटफर्ममा हालै प्रभावकारी नदेखिएको उदाहरण पनि उल्लेख गरिएको छ।
टिकटकले हालसम्म उमेर प्रमाणीकरणका लागि एकल र पूर्ण समाधान उपलब्ध नभएको स्वीकार गरेको छ। कम्पनीले ब्लग पोस्टमा भनेको छ, ‘गोपनीयता जोगाउँदै प्रभावकारी रूपमा उमेर पुष्टि गर्ने विश्वव्यापी रूपमा स्वीकार्य कुनै एक विधि अहिलेसम्म छैन।’
टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्मबाट टाढा राख्ने, किशोर प्रयोगकर्तालाई उमेरअनुकूल अनुभव दिने र विभिन्न समाधानहरू निरन्तर परीक्षण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार बहु–स्तरीय उमेर प्रमाणीकरण प्रणाली नै किशोर सुरक्षाका लागि आवश्यक छ।
यी अभ्यासहरू टिकटकले गत एक वर्ष युरोपमा सञ्चालन गरिएको पाइलट प्रोजेक्टपछि लागू गर्न लागेको हो। उक्त परियोजनाले हजारौं थप नाबालक अकाउन्ट पहिचान र हटाउन सहयोग गरेको टिकटकले जनाएको छ। साथै, टिकटकले युरोपेली संघको कडा डेटा संरक्षण मापदण्ड पालना सुनिश्चित गर्न डाटा प्रोटेक्सन कमिसनसँग सहकार्य गरेको थियो।
यी कदमहरू सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्नुपर्ने माग तीव्र बन्दै गएको समयमा आएका हुन्। अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गत महिना लागू भइसकेको छ, जसका कारण लाखौं अकाउन्ट बन्द वा सीमित गरिएका छन्। यस प्रतिबन्धविरुद्ध रेडिटले मुद्दासमेत दायर गरेको छ।
यसैबीच, बेलायतमा पनि १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुन सक्ने संकेत देखिएको छ। प्रधानमन्त्री कियर स्टार्मरले ‘सबै विकल्प खुला छन्’ भन्दै अस्ट्रेलियामा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन्।
बेलायतको हाउस अफ लर्ड्सले आउँदो साता १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ। यदि संशोधन पारित भएमा, आगामी महिनाहरूमा सांसदहरूले यस विषयमा बाध्यकारी मतदान गर्नेछन्।
आईसीटी समाचार