नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटको उत्साह चुलिएको छ। यही उत्साहलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित नेपालको अग्रणी डिजिटल वालेट खल्तीले “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ” नामक आकर्षक अभियान सार्वजनिक गरेको छ।
यस अभियानमार्फत खल्तीले नेपाली क्रिकेट टोलीको गौरवशाली यात्रालाई उत्सवका रूपमा मनाउँदै एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रङ्गशालामै बसेर टी–२० विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्नेछ।
क्रिकेट प्रशंसकहरूको सपना वास्तविकतामा बदल्ने लक्ष्यसहित ल्याइएको यो अभियानलाई खल्तीले ‘गेमिफाइड अनुभव’को रूपमा डिजाइन गरेको छ। यसअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले एपमार्फत मान्य कारोबार गर्दा डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एक खेलाडीको कार्ड रहनेछ। बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक (युनिक) खेलाडीका कार्ड संकलन गरी आफ्नो डिजिटल टिम पूरा गर्नुपर्नेछ।
अभियानको क्रममा अन्तिम विजेतामात्र नभई कार्ड संकलनको हरेक चरणमा प्रयोगकर्ताहरूलाई विभिन्न पुरस्कार प्रदान गरिनेछ। २, ५, ७ तथा ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्दा प्रयोगकर्ताले प्रोमो कोडहरू प्राप्त गर्नेछन् भने ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट हरेक १४ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू HONOR X9d स्मार्टफोन जित्ने अवसर पाउनेछन्। त्यसैगरी, ११ वटै प्लेयर कार्ड सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम बम्पर लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको उल्लेख गर्दै “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ” अभियान सामान्य अफरभन्दा फरक रहेको बताए। उनका अनुसार, यस अभियानमार्फत खल्तीले प्रयोगकर्ताहरूलाई नेपाली क्रिकेट टोलीको ऐतिहासिक यात्राको प्रत्यक्ष साक्षी बन्ने अवसर प्रदान गर्न चाहेको हो। रङ्गशालामै बसेर राइनोजले इतिहास रचेको क्षण देख्न पाउने वातावरण सिर्जना गर्न पाउँदा खल्ती उत्साहित रहेको उनले बताए।
यो अभियान २०८२ साल कार्तिक १३ गतेदेखि मंसिर ११ गतेसम्म लागू हुनेछ। खल्ती प्रयोगकर्ताहरूले युटिलिटी बिल भुक्तानी, मोबाइल टप–अप तथा अन्य दैनिक उपभोग्य सेवाहरू खल्ती एपमार्फत प्रयोग गरी यस योजनामा सहभागी हुन सक्नेछन्।
आईसीटी समाचार