कीवर्डहरू -

कसलाई मतदान गर्नुहुन्छ ? भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह

कसलाई मतदान गर्नुहुन्छ ? भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र कुन चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

विज्ञप्तिमा केही अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सर्वसाधारण तथा मतदातासँग कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्ने हो भन्ने प्रश्न सोध्ने गरेको गुनासो प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना जारी गरिएको जनाइएको छ। यस प्रकारका गतिविधिले मतदाताको गोपनीयता भङ्ग हुने प्रशासनको भनाइ छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँका अनुसार मतदाताको गोपनीयता भङ्ग गर्ने वा गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घन हुने स्पष्ट व्यवस्था छ।

विज्ञप्तिमा यदि कसैले अटेर गरी आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने समेत उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र गोप्य बनाउन सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।

null