ग्लोबल स्मार्टफोन बजारमा २०२५ एक महत्वपूर्ण वर्षको रूपमा देखिएको छ। करिब १४ वर्षपछि पहिलो पटक एपलले स्यामसुङलाई पछाडि पार्दै विश्वव्यापी स्मार्टफोन शिपमेन्ट्समा अग्रस्थान हासिल गरेको छ। समग्र बजारमा सीमित वृद्धि देखिए पनि एपल र स्यामसुङबीचको अन्तर यस वर्ष अझ स्पष्ट बनेको छ।
काउन्टरपोइन्ट रिसर्चको हालै सार्वजनिक गरिएको रिपोर्टअनुसार, २०२५ मा ग्लोबल स्मार्टफोन शिपमेन्ट्समा वार्षिक आधारमा २ प्रतिशतको वृद्धि दर्ता भएको छ। यस अवधिमा एपलले २० प्रतिशत ग्लोबल मार्केट शेयरसहित वर्ष समाप्त गर्यो भने १० प्रतिशत वाईओवाई वृद्धि हासिल गर्यो। स्यामसुङ १९ प्रतिशत मार्केट शेयर र ५ प्रतिशत वृद्धिसहित दोस्रो स्थानमा सीमित रह्यो। २०२४ को तुलनामा यी दुई कम्पनीबीचको अन्तर बढ्दै गएको देखिन्छ।
रिपोर्टका अनुसार एपलको वृद्धिमा उदीयमान र मिड–साइज बजारहरूमा आईफोनको बढ्दो माग प्रमुख कारण बनेको छ। फाइनान्सिङ अप्सनहरूको विस्तार र उपभोक्ताहरूको प्रिमियम स्मार्टफोनतर्फको झुकावले एपललाई फाइदा पुर्याएको बताइएको छ। वर्षको अन्त्यतिर आईफोन १७ को सफल सुरुवात र आईफोन १६ ले जापान, भारत तथा दक्षिण–पूर्वी एसियामा देखाएको मजबुत प्रदर्शनले कम्पनीलाई थप बल प्रदान गरेको छ।
काउन्टरपोइन्ट रिसर्चका वरिष्ठ विश्लेषक वरुण मिश्राका अनुसार, २०२५ मा एपलको वृद्धि उदीयमान बजारहरूमा बलियो उपस्थिति र सन्तुलित प्रोडक्ट मिक्सका कारण सम्भव भएको हो। उनका अनुसार चौथो त्रैमासिकमा आईफोन १७ सिरिजले सकारात्मक प्रतिक्रिया पायो भने आईफोन १६ ले एशियाका महत्वपूर्ण बजारहरूमा निरन्तर राम्रो प्रदर्शन गरिरह्यो। कोभिड–युगको अपग्रेड चक्रले पनि यस वृद्धिमा सहयोग पुर्याएको छ।
स्यामसुङले २०२५ मा दोस्रो स्थान कायम राखे पनि कम्पनीको वृद्धि अपेक्षाकृत सीमित देखिएको छ। मिड–रेन्ज सेग्मेन्टमा ग्यालेक्सी ए सिरिज र प्रिमियम सेग्मेन्टमा ग्यालेक्सी फोल्ड ७ तथा ग्यालेक्सी एस २५ सिरिजले अघिल्ला मोडेलभन्दा राम्रो प्रदर्शन गरे पनि ल्याटिन अमेरिका र पश्चिमी युरोपमा आएको दबाबका कारण कम्पनीको समग्र गति सुस्त भएको रिपोर्टमा उल्लेख छ।
एपल र स्यामसुङपछि तेस्रो स्थानमा शाओमी रहेको छ, जसले १३ प्रतिशत मार्केट शेयरसहित स्थिर प्रदर्शन देखाएको छ। उदीयमान बजारहरूमा माग, प्रिमियमाइजेसन रणनीति र सन्तुलित प्रोडक्ट पोर्टफोलियो शाओमीको मजबुतीको कारण बनेको रिपोर्टले जनाएको छ। चौथो स्थानमा भिभो रह्यो, जसले भारतजस्ता बजारहरूमा अफलाइन नेटवर्क र प्रिमियम फोकसका कारण वृद्धि हासिल गर्यो। ओप्पोले भने चीन र एसिया–प्यासिफिक क्षेत्रमा कमजोर मागको सामना गर्नुपरेको छ, जसका कारण भारत तथा मिडल ईस्ट र अफ्रिकामा वृद्धि भए पनि समग्र शिपमेन्ट्समा गिरावट आएको छ।
रिपोर्टअनुसार टप–५ बाहिर रहेका नथिङ र गुगलजस्ता ब्रान्डहरूले पनि २०२५ मा उल्लेखनीय वृद्धि गरेका छन्। नथिङले वार्षिक रूपमा ३१ प्रतिशत र गुगलले २५ प्रतिशत वृद्धि दर्ता गरेका छन्।
आईसीटी समाचार