सामसङले ग्यालेक्सी अनप्याक्ड २०२६ मार्फत आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गरेको छ।
कम्पनीले ग्यालेक्सी ए२६ अल्ट्रा, ग्यालेक्सी एस२६ प्लस र ग्यालेक्सी एस २६ सहित नयाँ ग्यालेक्सी बड्स ४ र बड्स ४ प्रो समेत अनावरण गरेको हो।
यी सबै उपकरण प्रि-अर्डरका लागि खुला भइसकेका छन् र मार्च ११ देखि बिक्रीमा आउनेछन्।
ग्यालेक्सी ए२६ अल्ट्रा र ग्यालेक्सी एस२६ प्लस
ग्यालेक्सी ए२६ अल्ट्रा र ग्यालेक्सी एस२६ प्लस अघिल्लो पटकको १०० डलर महँगा भएका छन्। एस२६ को सुरुवाती मूल्य ९०० डलर र एस २६ प्लसको ११ सय अमेरिकी डलर (२५६ जीबी भेरियन्ट) तोकिएको छ।

डिजाइनमा हल्का परिवर्तन गर्दै कुनाहरू गोलाकार बनाइएको छ। एस २६ मा ६.३ इन्चको डिस्प्ले र ४३०० एमएएच ब्याट्री दिइएको छ भने एस२६ प्लसमा ६.७ इन्च स्क्रिन उपलब्ध छ।
उत्तर अमेरिका, चीन र जापानका मोडेलहरूमा क्वालकमको स्न्यापड्रयागन ८ इलाइट जेन ५ चिपसेट प्रयोग गरिएको छ। क्यामेरा हार्डवेयर अघिल्लो वर्षकै भए पनि प्रो स्केलर इमेज अपस्केलिङ, MDNIe चिपमार्फत सुधारिएको रङ सटीकता र नयाँ अब्जेक्ट अवयेर इन्जिन जस्ता फिचर थपिएका छन्।
भिडियो स्टेबलाइजेसन प्रणालीले चलायमान वस्तु पछ्याउँदा पनि होराइजन सन्तुलित राख्ने दाबी गरिएको छ। फोन बैजनी, निलो, कालो, सेतो, सिल्भर र रोज गोल्ड रंगमा उपलब्ध हुनेछन् ।
एस२६ अल्ट्रा: गोपनीयता डिस्प्ले विशेष आकर्षण
ग्यालेक्सी एस२६ अल्ट्राको सुरुवाती मूल्य १३०० अमेरिकी डलर राखिएको छ। यसमा ६.९ इन्च क्युएचडी प्लस (3120x1440) एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट छ।
यसको मुख्य विशेषता ‘प्राइभेसी डिस्प्ले’ हो, जसले साइड एङ्गलबाट स्क्रिन हेर्दा सामग्री देखिन नदिने प्रविधि प्रयोग गर्छ। पासवर्ड हाल्दा, नोटिफिकेसन आउँदा वा निश्चित एप खोल्दा यो फिचर स्वतः सक्रिय गर्न सकिने व्यवस्था छ।
यसमा ५ हजार एमएएच ब्याट्री, सुपर फास्ट चार्जिङ ३.० सपोर्ट, १२ जीबी वा १६ जीबी र्याम र १ टिबीसम्म स्टोरेज विकल्प उपलब्ध छन्।
क्यामेरा सेटअपमा २०० मेगापिक्सेल मुख्य सेन्सर, ५० मेगापिक्सेल अल्ट्रावाइड, १० मेगापिक्सेल (3x) र ५० मेगापिक्सेल (5x) टेलिफोटो लेन्स छन्। मुख्य र 5x टेलिफोटो सेन्सरमा फराकिलो अपर्चर दिइएको छ, जसले कम प्रकाशमा राम्रो फोटो खिच्न सहयोग गर्नेछ।
ग्यालेक्सी बड्स ४ र बड्स ४ प्रो
नयाँ ग्यालेक्सी बड्स ४ सिरिजमा डिजाइन परिवर्तन गरिएको छ। स्टेमको एङ्गुलर लुक हटाइएको छ र फिट अझ सहज बनाइएको कम्पनीको दाबी छ।

बड्स ४ खुला-फिट डिजाइनमा आउँदा बड्स ४ प्रोमा क्यानाल-फिट डिजाइन छ। अडियो क्वालिटी, एएनसी (Active Noise Cancellation), Adaptive EQ र Adaptive ANC मा सुधार गरिएको छ। बड्स ४ प्रोमा साइरन डिटेक्सन फिचर पनि छ, जसले आपतकालीन आवाज सुन्न Ambient मोड सक्रिय गर्छ।
मूल्य बड्स ४ को १८० डलर र बड्स ४ प्रोको २५० डलर तोकिएको छ।
एआई फिचरमा जोड
सामसङले ग्यालेक्सी एआईमा परप्लेक्सिटीलाई नयाँ एआई एजेन्टका रूपमा समावेश गरेको छ। ‘Hey Plex’ वाक्यांशमार्फत प्रयोग गर्न सकिने यो सुविधा सामसङ ब्राउजरमा समेत एकीकृत हुनेछ।
त्यस्तै गूगलको जेमिनाइ एपले बहु-चरणीय कार्य (जस्तै राइड बुकिङ वा किराना अर्डर) एआई मार्फत सम्पन्न गर्ने फिचर ल्याउँदैछ। सर्कल टु सर्चले एकैचोटि धेरै वस्तुको खोजी गर्न सक्नेछ भने जेमिनाइमा आधारित स्क्याम डिटेक्सन सुविधा पनि उपलब्ध गराइनेछ।
समग्रमा, ग्यालेक्सी २६ सिरिजमा हार्डवेयरभन्दा बढी एआई र गोपनीयता फिचरमा जोड दिइएको देखिन्छ। मोबाइल बजारमा प्रतिस्पर्धा चर्किंदै जाँदा सामसङले स्मार्टफोन अनुभवलाई अझ सुरक्षित र ‘एजेन्टिक एआई’ केन्द्रित बनाउने रणनीति लिएको स्पष्ट संकेत दिएको छ।
आईसीटी समाचार