अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०२२ मा गरेको अन्तरिक्ष प्रयोगले क्षुद्रग्रहको कक्षामा उल्लेखनीय परिवर्तन ल्याएको नयाँ अध्ययनले देखाएको छ।
वैज्ञानिकहरूका अनुसार अन्तरिक्षयानलाई जानाजानी क्षुद्रग्रहमा ठोक्क्याइँदा त्यसको आफ्नै कक्षा मात्र होइन, सूर्य वरिपरि घुम्ने सम्पूर्ण प्रणालीको मार्गसमेत परिवर्तन भएको छ।
नासा जेट प्रपल्सन ल्याबोरेटरीले जारी गरेको विज्ञप्तिअनुसार मानव निर्मित वस्तुले कुनै खगोलीय पिण्डको सूर्य वरिपरि घुम्ने मार्गलाई मापन गर्न सकिने गरी परिवर्तन गराएको यो पहिलो घटना हो।
यसले भविष्यमा पृथ्वीलाई खतरनाक अन्तरिक्षीय वस्तुबाट जोगाउने सम्भावित उपाय विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
यो परीक्षण डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट (डार्ट) नामक मिशनअन्तर्गत गरिएको थियो। यस क्रममा करिब ५६० फिट चौडाइ भएको सानो क्षुद्रग्रह उपग्रह डिमोर्फोसलाई लक्षित गरी अन्तरिक्षयान ठोक्क्याइएको थियो। डिमोर्फोस ठूलो क्षुद्रग्रह डिडिमोसको वरिपरि घुम्ने उपग्रह हो।
प्रारम्भिक विश्लेषणपछि नासाले उक्त मिशन सफल भएको घोषणा गरेको थियो। त्यसपछि सन् २०२४ मा प्रकाशित अर्को अध्ययनले ठक्करपछि डिमोर्फोसको डिडिमोस वरिपरिको कक्षीय अवधि करिब ३३ मिनेटले घटेको देखाएको थियो। साथै यसको कक्षा पहिलेको तुलनामा डिडिमोसतर्फ करिब १२० फिट नजिक सरेको पाइएको थियो।
नयाँ अध्ययनले भने प्रभाव केवल डिमोर्फोसमा मात्र सीमित नभई पूरै क्षुद्रग्रह प्रणालीमा परेको देखाएको छ। डिडिमोस र डिमोर्फोसले सूर्य वरिपरि करिब ७७० दिनमा एकपटक परिक्रमा गर्छन्। अध्ययनका प्रमुख लेखक राहिल माकाडियाका अनुसार यस परिक्रमा गतिमा करिब ११.७ माइक्रोन प्रति सेकेन्ड (झण्डै १.७ इन्च प्रति घण्टा) को परिवर्तन आएको छ।
यो परिवर्तन सानो जस्तो देखिए पनि दीर्घकालीन रूपमा निकै महत्वपूर्ण हुन सक्छ। मकाडियाका अनुसार यस्तो सानो परिवर्तनले भविष्यमा कुनै खतरनाक क्षुद्रग्रह पृथ्वीमा ठोक्किने कि बच्ने भन्नेमा निर्णायक भूमिका खेल्न सक्छ।
वैज्ञानिकहरूले यस प्रयोगलाई पृथ्वीलाई सम्भावित अन्तरिक्षीय खतरा—जस्तै क्षुद्रग्रह वा उल्काबाट जोगाउन सकिने प्रविधि विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरेका छन्।
आईसीटी समाचार