कीवर्डहरू -

नयाँ विज्ञापन फर्म्याट परीक्षण गर्दै एक्स

नयाँ विज्ञापन फर्म्याट परीक्षण गर्दै एक्स

सामाजिक सञ्जाल प्लेटफर्म एक्सले पोस्टसँग सम्बन्धित कम्पनी वा उत्पादनको सिफारिस पोस्टको तलै देखिने नयाँ विज्ञापन फर्म्याट परीक्षण गर्न थालेको छ।

युरोपका एक प्रयोगकर्ताले देखेको प्रारम्भिक परीक्षणमा, एक प्रयोगकर्ताले पोर्चुगलमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा राम्रोसँग काम गरिरहेको उल्लेख गरेको पोस्टको तल ‘Get Starlink’ भन्ने सिफारिस देखिएको थियो। उक्त लिंकमा क्लिक गर्दा प्रयोगकर्तालाई स्टारलिङ्कको आधिकारिक वेबसाइटमा लैजाने व्यवस्था गरिएको थियो।

एक्सका उत्पादन प्रमुख निकिता बियरले यो परीक्षणको पुष्टि गर्दै ‘विज्ञापन जस्तो नदेखिने विज्ञापन उत्पादन बनाउने प्रयास गरिरहेका छौं” भनेर प्रतिक्रिया दिएका छन्। हाल यो विज्ञापन सबै प्रयोगकर्तालाई भने देखिएको छैन, तर विज्ञापन राखिने स्थान भने देखिन थालेको छ।

उदाहरणका लागि, एक्स प्रयोगकर्ता Pieter Levels (@levelsio) ले मार्च ६ मा गरेको पोस्टको तल अहिले एउटा बाकस देखिन्छ। परीक्षण सक्रिय भएको बजारमा भने त्यही स्थानमा विज्ञापन देखिन्छ, अन्यत्र भने त्यहाँ सामान्य एक्स पोस्ट मात्र देखिने गरेको छ।

नयाँ फिचर देखेपछि केही प्रयोगकर्ताले आश्चर्य व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले ‘के तपाईंले यो स्टारलिङ्क बटन थप्नुभयो?’ भनेर प्रतिक्रिया समेत दिएका थिए।

निकिता बियरले यो विज्ञापन स्थानमा ‘अफिलिएट लिंक’ राख्ने सुझावलाई अस्वीकार गर्दै त्यसो गरेमा प्रयोगकर्ताले झुटो सिफारिस गर्न सक्ने भएकाले प्लेटफर्ममा सिफारिसको विश्वसनीयता कायम राख्न चाहेको बताएका छन्।

सिर्जनाकर्ता सामग्रीतर्फ एक्सको ध्यान

यो परीक्षण यसै साता एक्सले सिर्जनाकर्ताका लागि \Paid Partnership’ लेबल सुरु गरेको समाचारपछि आएको हो। यस्तो लेबलले सामाजिक सञ्जालमा हुने विज्ञापनसम्बन्धी नियम पालना गर्न सहयोग पुर्‍याउनेछ। यसअघि सिर्जनाकर्ताले #ad वा #paidpartnership जस्ता ह्यासट्याग प्रयोग गरेर यस्तो जानकारी दिनुपर्ने अवस्था थियो।

यदि सिर्जनाकर्ताको प्रायोजित पोस्टसँगै विज्ञापन लिंक पनि जोड्न सकिने व्यवस्था भयो भने, यसले विज्ञापनदातालाई प्लेटफर्मतर्फ आकर्षित गर्न सक्ने अनुमान गरिएको छ। यसले एक्सलाई इन्स्टाग्राम, युट्युब र टिकटक जस्ता सिर्जनाकर्तामैत्री प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न सहयोग पुग्न सक्छ।

एक्सले लामो समयदेखि सिर्जनाकर्ता सामग्रीलाई प्राथमिकता दिन विभिन्न सुविधा ल्याउँदै आएको छ। कम्पनीले भाइरल सामग्रीका लागि भुक्तानी, विज्ञापन आम्दानी साझेदारी, सिर्जनाकर्ता सदस्यता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालै कम्पनीले ‘Creator Subscriptions’ सुविधामा सुधार गर्दै व्यक्तिगत थ्रेडमार्फत पनि आम्दानी गर्न सकिने विकल्प थपेको छ।

यसैबीच, एक्सले आफ्नो एकीकृत च्याटबोट ग्रोकले अब एक्समा प्रकाशित लामो लेखहरू पढ्न सक्ने क्षमता पनि थपिएको घोषणा गरेको छ। तर लामो लेख प्रकाशित गर्ने सिर्जनाकर्ताहरूले प्रायः आफ्नै वेबसाइट वा न्यूजलेटर प्रयोग गर्ने भएकाले यो सुविधा अझै व्यापक रूपमा प्रयोग भएको देखिएको छैन।