आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो दैनन्दिन जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। सामाजिक सञ्जाल प्रयोगदेखि अफिसको काम, फोटो तथा भिडियो रेकर्डिङसम्म धेरै काम आजकल फोनबाटै सजिलै गर्न सकिन्छ।
तर फोनको अत्यधिक प्रयोगसँगै धेरै प्रयोगकर्ताले एउटा साझा समस्या भोगिरहेका छन्—फोनको ब्याट्री चाँडै कमजोर हुनु। धेरैपटक केही महिनामै फोनको ब्याट्री क्षमता घट्दै गएको अनुभव हुन्छ।
यसको प्रमुख कारणमध्ये एक हो फोनलाई बारम्बार १०० प्रतिशतसम्म चार्ज गर्ने बानी। विशेषज्ञहरूका अनुसार चार्जिङ लिमिट सेट गर्ने सुविधाले यस्तो समस्या कम गर्न मद्दत गर्न सक्छ।
चार्जिङ लिमिट भनेको के हो?
अहिलेका धेरै स्मार्टफोनहरूमा ‘चार्जिङ लिमिट’ भन्ने फिचर उपलब्ध हुन्छ। यसले प्रयोगकर्तालाई ब्याट्रीलाई निश्चित प्रतिशतसम्म मात्र चार्ज गर्न अनुमति दिन्छ। उदाहरणका लागि, यदि चार्जिङ लिमिट ८० प्रतिशतमा सेट गरिएको छ भने फोन ८० प्रतिशत पुगेपछि स्वतः चार्ज हुन बन्द हुन्छ।
यसरी ब्याट्रीलाई पूर्ण १०० प्रतिशतसम्म लगातार चार्ज नगर्दा यसको दीर्घकालीन आयु बढ्न सक्ने बताइन्छ।
एन्ड्रोइड फोनमा कसरी सेट गर्ने?
एन्ड्रोइड स्मार्टफोनमा चार्जिङ लिमिट सेट गर्न सामान्यतया निम्न चरणहरू अपनाउन सकिन्छः
- फोनको (सेटिङ्स) खोल्नुहोस्।
- त्यसपछि ब्याट्री वा ब्याट्री हेल्थ विकल्पमा जानुहोस्।
- त्यहाँ चार्जिङ लिमिट, प्रोटेक्ट ब्याट्री वा यस्तै नामको विकल्प देखिन सक्छ।
- उक्त विकल्प सक्रिय गरेर चार्जिङ लिमिट ८०% वा ८५% मा सेट गर्न सकिन्छ।
आइफोनमा कसरी सेट गर्ने?
आईफोन प्रयोगकर्ताले पनि ब्याट्री सम्बन्धी सेटिङमार्फत चार्जिङ व्यवस्थापन गर्न सक्छन्।
- सेटिङ्स खोल्नुहोस्।
- ब्याट्रीमा ट्याप गर्नुहोस्।
- त्यसपछि ब्याट्री हेल्थ & चार्जिङ विकल्प खोल्नुहोस्।
यहाँबाट उपलब्ध विकल्पहरू प्रयोग गरेर चार्जिङ व्यवस्थापन गर्न सकिन्छ। आईओएसमा ‘Optimized Battery Charging’ जस्ता फिचरहरूले ब्याट्रीको आयु जोगाउन मद्दत गर्छन्।
किन उपयोगी छ चार्जिङ लिमिट?
प्राविधिक विशेषज्ञहरूका अनुसार फोनलाई सधैं १०० प्रतिशतसम्म चार्ज गरिरहँदा ब्याट्रीमा दीर्घकालीन दबाब पर्न सक्छ। चार्जिङ लिमिट प्रयोग गर्दा ब्याट्रीको स्वास्थ्य राम्रो रहन सक्छ र समयसँगै राम्रो ब्याकअप पनि प्राप्त हुने सम्भावना बढ्छ।
आईसीटी समाचार