विश्व अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को क्रेजमा छ । मेसिनहरूले भाषा बुझ्ने, अनुवाद गर्ने र निर्णय प्रक्रियामा सहयोग गर्ने प्रणालीहरू दिनानुदिन स्मार्ट बन्दै गइरहेका छन् ।
तर आज हामीले देखिरहेको प्रविधिको विकास पछाडि दशकौँ लामो अनुसन्धान र प्रयोग छ। त्यही अनुसन्धान यात्रामा योगदान दिने नेपाली वैज्ञानिकमध्ये एक हुन्, डा. समीर मास्के । २५ वर्षदेखि निरन्तर एआईको अनुसन्धान काम गरिरहेका छन् ।
उनी अनुसन्धानकर्ता सँगसँगै एक उद्यमी पनि हुन् । उनले स्थापना गरेको फ्युजमेसिन्स विश्वको प्रतिष्ठित स्टक एक्सचेन्ज नासड्याकमा सूचीकृत भएको छ । सम्भवतः नेपालीले स्थापना गरेर नासड्याकमा सूचीकृत हुने यो पहिलो कम्पनी हो, जुन नेपाल र नेपालीका लागि गौरवको विषय बनेको छ ।
ठमेलको गल्लीबाट सुरु भएको यात्रा
मास्के काठमाडौंको ठमेलमा जन्मिए । त्यहीँका गल्लीहरूमा पांग्रा गुडाउँदै, चुंगी खेल्दै हुर्किए । कक्षा १ देखि १० सम्मको अध्ययन सेन्ट जेभियर्स गर्ने मौका पाएका उनले आईएससी वीरेन्द्र सैनिकबाट गरेका थिए ।
आईएससी पढ्दै गर्दा अमेरिका पढ्न जाने योजना बुनिसकेका थिए । त्यसै अनुसार अमेरिकाका विभिन्न कलेजमा छात्रवृत्तिका लागि आवेदन दिए ।
अनि ‘गणित र भौतिक विज्ञान’मा स्नातक गर्न बेट्स कलेजमा पूर्ण छात्रवृत्ति पाए । रूची कम्प्युटरमा भएपनि पूर्ण छात्रवृत्ति पाएकाले स्नातकमा ‘गणित र भौतिक विज्ञान’ अध्ययन गर्न सन् १९९८ मा अमेरिका गए ।
बेट्समा कम्प्युटर विज्ञानको पढाइ हुँदैन्थ्यो । बच्चैदेखि चलचित्रमा कम्प्युटर बोल्दाको दृश्यले उनलाई आकर्षित गरेको थियो। ‘त्यसपछि कम्प्युटर र मेसिनमा मेरो रूचि बढ्यो,’ उनी सम्झिन्छन्।
वेदमा कम्प्युटर विज्ञान नभएपनि त्यसको एउटा विशेषता थियो, कसैले पूर्ण छात्रवृत्ति पाएको छ भने अन्य देशमा गएर पढ्दा पनि पूरा पैसा तिरिदिन्थ्यो ।
यसले गर्दा मास्केलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो । त्यसपछि उनी पहिलो वर्ष नै एक सेमेस्टर कम्प्युटर विज्ञान अध्ययन गर्न लन्डन गए । लन्डनको युनिभर्सिटी अफमा कम्प्युटर साइन्स पढे ।
पढाइ सँगसँगै गर्मी विदामा एआईमा रिसर्च पनि गर्न थाले । कलेजको दोस्रो वर्षमै उनले नेपालीमा टाइप गरेको कुरा मेसिनले बोल्ने ‘नेपाली टेक्स्ट टु स्पीच’ प्रविधिको विकास गरे । यो कुरा सन् २००० तिरको हो ।
पहिलो वर्ष नै नेपाली टेक्स्ट टु स्पीचमा काम सुरू गरेको दोस्रो वर्षमा पूरा भएको उनले बताए ।
‘पहिलादेखि नै टेक्स्ट टु स्पीच ट्रान्सलेसन सिस्टम बनाउन खुब मन पर्थ्यो । एउटा भाषामा बोल्यो भने अर्को भाषामा आउने,’ मास्केले आइसिटी समाचारसँग भने, ‘अहिले रियालिटी भएको छ । धेरै समसयसम्म यो रियालिटी थिएन ।’

बेट्स कलेजमा पढाइ सकिएपछि उनले विश्वकै प्रतिष्ठित कम्पनी आईबीएम जोइन गरे । त्यतिबेला टेक्स्ट टु स्पीचमा आईबीएम वाटसन रिसर्च सेन्टरले उत्कृष्ट काम गरिरहेको थियो । त्यहाँ अनुसन्धान गर्ने र सुधार गर्ने काम हुन्थ्यो । आईबीएममा रहँदा उनले अरबी, चिनियाँ, जर्मनी लगायत धेरै भाषालाई अंग्रेजीमा रूपान्तरण गर्ने प्रविधिमा अनुसन्धान गरेका थिए ।
तत्कालीन राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठान (हाल नास्ट) मा पनि समेत नेपाली टेक्स्ट टु स्पिच ट्रान्सलेसन प्रविधिको प्रेजेन्टेसन दिएका थिए । त्यो बेला नेपालमा अधिकांशलाई एआई बारे थाहा नै थिएन ।
जब उनले टेक्स्ट टु स्पिच ट्रान्सलेसन प्रविधिको विकास गरेपछि ल्याङ्ग्वेज प्रोसेसिङ र मेसिन लर्निङमा झनै रूचि बढ्दै गयो ।
त्यसपछि यसैमा विद्यावारिधि (पीएचडी) गर्ने योजना बनाए । अनि पीएचडीका लागि कोलम्बिया विश्विविद्यालयमा आवेदन दिए र छात्रवृत्ति पाए । नेचुरल ल्याङ्वेज प्रोसेसिङमा पीएचडी गरे ।
अहिले पनि कोलम्बिया विश्विविद्यालयमा विद्यार्थीहरूलाई फढाइरहेका छन् । उनको नाममा २० बढी पेपरहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् भने केही प्याटेन्ट पनि रहेका छन् ।
अनुसन्धानबाट उद्यमसम्म
मास्केले सन् २००० देखि एआईमा अध्ययन गरिरहेका थिए । सन् २०१३ को कुरा विश्वविद्यालयमा पढाउँदै एआईमा अध्ययन, अनुसन्धान गरिरहेका थिए । लाखौं तलब थियो ।
तर उनलाई कता कता केही नपुगेको जस्तो भान हुन थाल्यो । आफुले गरेको अनुसन्धानलाई वास्तविकतामा ल्याएर विश्वका करोडौं मानिसलाई प्रभाव पार्ने चाहना उत्कर्षमा पुग्दै थियो ।
त्यो समयमा एआई बारे कसैलाई मतलब थिएन । तर मास्केलाई मानिसको काममा कसरी मेसिन जोड्ने भन्ने हुटहुटी थियो ।

फ्युजमेसिन्स: मानिस र मेसिनको फ्युजन
फ्युजमेसिन्स नाम पनि ‘फ्युजिङ मसिन्स विथ ह्युमन्स’ भन्ने अवधारणाबाट आएको हो ।
‘मान्छेको दैनिकीमा फ्युज भएर काम गर्न सक्ने मेसिन बनाउने अवधारणाबाट फ्युजमेसिन्स नाम राखिएको हो,’ उनले भने, ‘जुन मेसिनले मान्छेलाई काम सजिलो होस् । इफिसियन्सी बढोस् ।’
फ्युजमेसिन्स सुरू गर्दा धेरैले ‘बौंलायो’ भनेका थिए । आफु बस्ने कोठाबाट फ्युजमेसिन्स सुरू गर्दा उनीसँग खासै केही थिएन, थियो त केवल, आँट, श्रीमति र परिवारको सपोर्ट ।
फ्युजमेसिन्सबाट पहिलो डेमो देखाउँदा एकजनाले एआई नभन्नु न्याचुरल ल्याङ्वेज प्रोसेसिङ सिस्टम भन्नु भनेको अहिले झल्झली सम्झन्छन् ।
उनी अगाडि भन्छन्, ‘एआई अहिलेको जस्तो लोकप्रिय थिएन । एआई भनेको नै धेरै मानिसलाई थाहा थिएन । नयाँ कुरा गर्दा सुरूमा सपोर्टर्स र डाउटर्स हुन्छन् ।’
विदेशमा आप्रवासी भएर कम्पनी खोल्न आफैमा कठिन काम हो । त्यसमा पनि ठूलो बजार र विदेशी प्रतिस्पर्धा थप चुनौती बन्यो । चुनौती आउँछ भन्ने थाहा थियो । तर सोचेको भन्दा अझै गार्हो भयो ।
चुनौतीहरू आउँदा छोडौं जस्तो लागेन भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् – रातदिन काम गर्दा पनि नतिजा नआएपनि बन्द गर्ने सोच नआएको होइन तर मेसिनमा मान्छेलाई फ्युजन गराउने जुन इच्छा थियो त्यसले नै मोटिभेट गर्यो ।
हरेक कम्पनीलाई कुनै न कुनै बेला गर्ने वा छोड्ने अवस्था आउँछ । मास्केलाई पनि कयौ पटक यस्तो क्षण आयो तर उनले मेसिनमा मान्छेलाई फ्युजन गराएरै छोड्ने अडान लिए । त्यसैका कारण आज फ्युजमेसिन्स एउटा ग्लोबल ब्राण्ड भएको छ । उनीसँग त्यो आँट, साहस र मिहिनेत हुँदैन्थ्यो भने सायदै आज फ्युजमेसिन्स हुन्थ्यो होला ।
आज फ्युजमेसिन्समा ४०० बढीले रोजगारी पाएका छन् । कम्पनी नेपालसहित अमेरिका, भारत, क्यान्डा, पेरू, चिली, अर्जेन्टिना र डोमेनिका रिपब्लिक गरी ८ देशमा फैलिएको छ ।
विश्वबजारमा नेपाली प्रभाव
फ्युजमेसिन्सले विश्वका इन्टरप्राइजहरूलाई सेवा दिँदै आएको छ। कम्पनीले एआई स्टुडियो, इन्टरभ्यू एजेन्ट, लेन्डर आईक्यु र फ्रड डिटेक्सन जस्ता विश्वस्तरीय प्रडक्ट निर्माण गरेको छ ।
डेमोक्रेटाइज एआई’ भन्ने नारासहित सुरू भएको फ्युजमेसिन्स २०८१ कात्तिक ६ गते (२३ अक्टोबर २०२५) भाइटिकाको दिन नासड्याकमा सूचीकृत भएको थियो ।
विश्वकै ठूलो स्टक एक्सचेन्जमा ‘FUSE’ टिकरसहित कारोबार थाल्दाको दिन अलिअलि सपना जस्तो र अलिअलि विपना जस्तो लागेको बताए ।
‘नासड्याकमा कारोबार सुरू हुँदाको दिनमा मसँग सुरूवाती दिनका कर्मचारी र परिवार थिए । त्यो दिन अलिकति सपना जस्तो र अलिकति यथार्थ जस्तो लाग्यो । त्यो समयमा नर्भस पनि भए । सूचीकृत हुन लामो यात्राको एउटा ठूलो कदम थियो,’ उनले भने, ‘तर हाम्रो यात्रा सकिएको थिएन । भर्खर अर्को यात्रा सुरू भएको छ । अझै धेरै गर्न बाँकी छ ।’

नासड्याकमा सूचीकृत हुने प्रक्रिया पनि जटिल छ । जटिल प्रक्रिया पूरा गरेर फ्युजमेसिन्स सूचीकृत भएको हो । नासड्याकमा ३५ सय जति कम्पनी सूचीकृत छन् । जसको बजार मूल्य ३० ट्रिलियन छ ।
फ्युजमेसिन्सले आजसम्मको यात्रा तय गर्नुमा नेपाली टिमको भूमिका ठूलो छ । कम्नीको अधिकांश इन्जिनियरिङ टिम नेपालमा छ ।
फ्युजमेसिन्सनको ग्रोथमा नेपाली टिमको भूमिका महत्त्वपूर्ण रहेको मास्के स्वीकार गर्छन् । ‘नेपालमा यस्ता प्रतिभाशाली ट्यालेन्टहरू छन् भन्ने हामीले विश्वलाई देखाएका छौं। विदेशी कम्पनीसँग काम गर्दा नेपालको टिम मेहनती र दक्ष छ भन्ने प्रतिक्रिया पाइन्छ । त्यो सुन्दा छाति गर्वले फुल्छ ।’
एआई फेलोशिप
फ्युजमेसिन्सले दक्ष जनशक्ति उत्पादन गर्न विगत केही वर्षदेखि एआई फेलोशिप दिदै आएको छ । नेपालमै ग्लोबल कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तरीय एआई जनशक्ति विकास गर्न फेलोशिप सुरू भएको मास्केले जानकारी दिए ।
सन् २०१७ देखि सुरू भएको फ्यूजमेसिन एआई फेलोशिप कार्यक्रमले गुणस्तरीय एआई शिक्षामार्फत १२ देशहरूमा १ हजार भन्दा बढी फेलोहरूलाई तालिम प्रदान गरिसकेको छ ।
फेलोशिपमा एआई, मेसिन लर्निङ र डीप लर्निङ, गणित, प्रोग्रामिङ लगायत सिकाइन्छ । ६ महिने यस कोर्षमा पढाइसँगसँगै प्रोजेक्ट पनि गर्नुपर्छ ।
‘नेपालमा ठूलो एआई ट्यालेन्ट छ। सही अवसर र शिक्षा पाएमा नेपाली युवाले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छन्,’ मास्के भन्छन् ।
आगामी लक्ष्य
मास्केका अनुसार अब एआईले मानिसको कामलाई झनै सहज बनाउनेछ ।
‘केही वर्षअघिसम्म मेसिनलाई सिकाउन निकै गाह्रो थियो,’ उनी भन्छन्, ‘तर अहिले मेसिनलाई बुझाउन सजिलो हुँदै गएको छ। यो क्रम अझ तीव्र हुँदै जानेछ ।’
उनको आगामी लक्ष्य स्पष्ट छ— मेसिनको प्रयोगबाट मानिसको कामलाई अझ सहज बनाउने ।
ठमेलबाट सुरु भएको समीर मास्केको यात्रा आज विश्व बजारसम्म पुगेको छ ।
यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, नेपालबाट विश्वस्तरीय प्रविधि नेतृत्व सम्भव छ भन्ने प्रमाण पनि हो ।
कमल केसी