कीवर्डहरू -

नेपालमा रेडमी नोट १५ फाइभजी सार्वजनिक, कति छ मूल्य ?

नेपालमा रेडमी नोट १५ फाइभजी सार्वजनिक, कति छ मूल्य ?

साओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन रेडमी नोट १५ फाइभजी सार्वजनिक गरेको छ। स्लिम डिजाइन, शक्तिशाली ब्याट्री, उच्च कार्यक्षमता र प्रिमियम फिचरका साथ आएको यो स्मार्टफोन प्रयोगकर्तालाई अझ उन्नत स्मार्ट अनुभव प्रदान गर्ने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ।

रेडमी नोट १५ फाइभजी ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल गरी तीन आकर्षक रङमा उपलब्ध छ। यीमध्ये मिस्ट पर्पल प्रयोगकर्तामाझ विशेष लोकप्रिय हुने अपेक्षा गरिएको छ। रेडमी सिरिजकै सबैभन्दा स्लिम डिजाइन भएको यस फोनको शरीर निकै पातलो र हल्का बनाइएको छ, जसले प्रयोगकर्तालाई स्टाइलिस देखिनुका साथै सहज प्रयोगको अनुभव दिन्छ।

यस स्मार्टफोनमा ५५२० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसले एकपटक चार्ज गर्दा करिब डेढ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु बढाउन सहयोग गर्छ भने ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज हुने सुविधा दिन्छ। एकपटक चार्ज गर्दा करिब २१ घण्टासम्म भिडियो हेर्न वा १० घण्टासम्म भिडियो रेकर्ड गर्न सकिने बताइएको छ।

फोनमा ६.७७ इन्चको ओएलईडी डिस्प्ले रहेको छ, जसमा ३२०० निट्स ब्राइटनेस उपलब्ध भएकाले घाममा पनि स्पष्ट दृश्य देख्न सकिन्छ। ३८४०Hz PWM डिमिङ प्रविधिले आँखाको आरामलाई ध्यानमा राखेको छ।

प्रोसेसरका रूपमा स्न्याड्रयागन ६ जेन ३ (४ नानोमिटर आर्किटेक्चर) प्रयोग गरिएको छ। साथै अधिकतम २४ जीबी र्याम सपोर्ट भएकाले फोनले उच्च गति र स्मूद प्रदर्शन दिन्छ।

रेडमी नोट १५ फाइभजीमा १८० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ। इमेज स्टेबिलाइजेसन र एआई–सञ्चालित फिचरले फोटो र भिडियोमा उच्च स्पष्टता प्रदान गर्ने कम्पनीको भनाइ छ।

डुअल स्पिकर, एआई पोर्ट्रेट र डाइनामिक सट्स २.० जस्ता फिचरले मनोरञ्जन अनुभवलाई अझ आकर्षक बनाउने बताइएको छ।

फोनमा इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलक सुविधा दिइएको छ। साथै ड्रप तथा पानी प्रतिरोधी प्रमाणन रहेको छ। वेट टच टेक्नोलोजी २.० का कारण स्क्रिन भिजेको अवस्थामा पनि सहज रूपमा फोन सञ्चालन गर्न सकिन्छ।

रेडमी नोट १५ फाइभजी नेपालभर उपलब्ध भएको कम्पनीले जनाएको छ। ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ४६ हजार ९९९ रुपैयाँ तोकिएको छ।