के तपाईंले कहिले यस्तो सहरको कल्पना गर्नुभएको छ, जहाँ मानिस र रोबोटहरू सँगै हिंड्छन्, घरहरूले तपाईंको मनको कुरा बुझ्छन्, र सवारी साधनले तपाईंलाई आफैं चलाएर गन्तव्यमा पुर्याउँछन्? सुन्दा अनौँठो लागेतापनि यो सम्भव भईसकेको छ। जापानको फुजी पर्वतको फेदमा, टोयोटा मोटर कर्पोरेशनले यस्तै एउटा अविश्वसनीय सहरको निर्माण गरिरहेको छ, जसको नाम हो: वोभन सिटी (Woven City) । यो केवल एउटा सहर मात्र होइन, यो एउटा जीवन्त प्रयोगशाला हो, जहाँ भविष्यको जीवनशैलीको परीक्षण गरिनेछ।
यो सहर किन यति अनौठो र भविष्यवादी छ?
स्प्रिङ्गर लिंकमा प्रकाशित एक अनुसन्धान पत्र (Redefining Toyota’s Woven City as a “glocal” innovation ecosystem...) ले यस सहरलाई "ग्लोकल इनोभेसन इकोसिस्टम"को संज्ञा दिएको छ। सरल भाषामा भन्नुपर्दा, यो सहर विश्वव्यापी समस्या समाधान गर्ने प्रविधिहरू विकास गर्ने एउटा केन्द्र हुनेछ, जुन स्थानीय आवश्यकतासँग जोडिएको हुनेछ। यसलाई अद्भुत बनाउने केही विशेषताहरू यस प्रकार छन्:
-
"बुनेको" सहर: टोयोटाका संस्थापक साकिची टोयोडाले आफ्नी आमाको काम सजिलो बनाउन करघा (लूम) बनाएका थिए। उनकै सम्मानमा यस सहरको नाम "वोभन" (बुनेको) राखिएको हो। यहाँ मानिस, प्रविधि र प्रकृतिलाई एउटै धागोमा बुनेर एउटा सुन्दर समाजको सिर्जना गर्ने लक्ष्य छ।
-
एक "ग्लोकल" प्रयोगशाला: वोभन सिटीलाई "स्मार्ट सिटी" नभनी "मोबिलिटी टेस्ट कोर्स" भनिन्छ। यहाँ विकसित प्रविधिहरू (जस्तै: आफैं चल्ने गाडी, एआई, स्मार्ट होम) पहिला यहीँ परीक्षण गरिनेछ र त्यसपछि स्थानीय सुसोनो सहर र विश्वभर फैलाइनेछ। यसरी यसले स्थानीय (Local) र विश्वव्यापी (Global) दुवैलाई जोड्ने "ग्लोकल" अवधारणालाई मूर्त रूप दिन्छ।
-
पूर्ण रूपमा कर्पोरेट स्वामित्व: यो सहर टोयोटाको पूर्ण स्वामित्वमा हुनेछ। यहाँ बस्नलाई विशेष आमन्त्रण चाहिन्छ, जसमा मुख्यतया टोयोटा कर्मचारी, अनुसन्धानकर्ता, स्टार्ट-अप कम्पनीका संस्थापक र उनीहरूका परिवारहरू हुनेछन्। यसको उद्देश्य सबैको लागि खुला सहर बन्नु नभई, नियन्त्रित वातावरणमा प्रविधिको विकास गर्नु हो।
-
दिगो विकासको नमुना: यो सहर हाइड्रोजन ऊर्जा, सौर्य ऊर्जा र स्मार्ट ग्रिड जस्ता नवीकरणीय ऊर्जाका स्रोतहरूद्वारा सञ्चालित हुनेछ। यहाँका घरहरू कार्बन-न्यूट्रल हुनेछन् र फोहोर व्यवस्थापन अत्याधुनिक हुनेछ। वातावरण संरक्षण र आर्थिक वृद्धिलाई सन्तुलनमा राख्ने यो एउटा महत्वाकांक्षी प्रयास हो।
स्थानीय मानिसहरू के सोच्छन्?
अनुसन्धानका क्रममा सुसोनो सहरका बासिन्दा र विज्ञहरूसँग कुराकानी गरिएको थियो। धेरैजसोले यस परियोजनालाई सकारात्मक रूपमा हेरेका छन्:
-
पुनरुत्थान र विकास: स्थानीय मानिसहरूले वोभन सिटीले वरपरको क्षेत्र, विशेष गरी इवानामी स्टेसनको विकास गर्ने र नयाँ पूर्वाधार निर्माण हुने आशा गरेका छन्।
-
प्रविधिको स्थानान्तरण: उनीहरू विश्वास गर्छन् कि वोभन सिटीमा परीक्षण गरिएका भविष्यका प्रविधि (जस्तै: आफैं चल्ने गाडी) सुसोनो सहरमा पनि भित्रिनेछन्, जसले जीवनस्तर सहज बनाउनेछ।
-
आर्थिक वृद्धि: उच्च प्रविधि कम्पनी र दक्ष जनशक्तिको आगमनले स्थानीय अर्थतन्त्रमा समृद्धि आउने अपेक्षा गरिएको छ।
-
सामुदायिक एकता: बालबालिकाहरू स्थानीय विद्यालयमा पढ्न जाने र स्थानीय चाडपर्वमा सहभागी हुने भएकाले वोभन सिटीका बासिन्दा र स्थानीय समुदायबीच घुलमिल हुने अवसर सिर्जना हुनेछ।
यति ठूलो परियोजनामा चुनौतीहरू पनि छन्। मुख्य चिन्ता के हो भने, यो पूर्ण रूपमा निजी कम्पनीको नियन्त्रणमा रहेको सहरले स्थानीय समुदायलाई कत्तिको अंगाल्छ? के यसले "स्मार्ट सिटी" को नाममा एउटा विशिष्ट वर्गको मात्र सहर बन्ने जोखिम छ? डेटा गोपनीयता र प्रविधिको पहुँचमा हुने असमानता पनि सम्बोधन गर्नुपर्ने विषय हुन्। तर, टोयोटाले डेटा सुरक्षा र सहमतिलाई अत्यधिक प्राथमिकता दिने बताएको छ।
टोयोटाको वोभन सिटी एउटा साहसी र कल्पनाशील परियोजना हो। यसलाई जटिल प्रणालीहरू (systems theory) को सही सञ्चालनको रूपमा हेर्न सकिन्छ। यसले देखाउँछ कि कसरी एउटा कम्पनीले मानव-केन्द्रित प्रविधि विकास गरेर दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गर्न योगदान पुर्याउन सक्छ।
यद्यपि यो सहर सबैको लागि खुला नहोला, तर यसले विकास गर्ने प्रविधि र जीवनशैलीले भविष्यका सहरहरूको लागि एउटा नमुना प्रस्तुत गर्नेछ। यस अर्थमा, वोभन सिटी हाललाई एउटा "प्रयोगशाला" मात्र भए पनि, यसको प्रभाव विश्वभर फैलिने सम्भावना छ, र यसले आउने दिनमा "सुखद जीवनको सामूहिक उत्पादन" (mass-producing happiness) गर्ने सहरहरूको झलक देखाउनेछ। यो वास्तवमै एउटा यस्तो ठाउँ हो, जहाँ भविष्य बुनेको छ।
स्नेहा झा