कीवर्डहरू -

प्रविधिको कमाल: अब रातमै पनि सूर्यजस्तो उज्यालो, जान्नुहोस् कसरी

प्रविधिको कमाल: अब रातमै पनि सूर्यजस्तो उज्यालो, जान्नुहोस् कसरी

अब अमावस्या रातमा पनि अन्तरिक्षबाट पठाइएको सूर्यको प्रकाशले पृथ्वी उज्यालो हुन सक्ने दाबी गरिएको छ। अमेरिकी स्टार्टअप रिफ्लेक्ट आर्बिटलले उपग्रहमा जडान गरिएका विशाल परावर्तक ऐनाहरूको माध्यमबाट रातको समयमा पृथ्वीका चयनित भागहरूमा सूर्यको प्रकाश पुर्‍याउन सकिने जनाएको छ।

यद्यपि, यो प्रकाश पूर्णिमाको चन्द्रमाजस्तै हुने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार, यो सेवाका लागि अहिलेसम्म करिब २.६ लाख आवेदन प्राप्त भएका छन्। यसको प्रारम्भिक मूल्य प्रतिघण्टा करिब ५,००० डलर, अर्थात् झन्डै ४.५ देखि ४.७ लाख रुपैयाँ तोकिएको छ।

मिडिया रिपोर्टअनुसार, क्यालिफोर्नियास्थित उक्त कम्पनीले सूर्य-सिंक्रोनस ध्रुवीय कक्षा मा उपग्रह स्थापना गर्ने योजना बनाएको छ। यो कक्षा पृथ्वीबाट करिब ६०० देखि ६२५ किलोमिटर माथि पर्छ, जहाँ उपग्रहहरू निरन्तर सूर्यको सम्पर्कमा रहन्छन् र दिन-रातको सीमा, जसलाई टर्मिनेटर लाइन भनिन्छ, सँगै चल्छन्।

प्रत्येक उपग्रहमा माइलर जस्तो हल्का सामग्रीबाट बनेको १० देखि ५४ मिटर चौडा परावर्तक दर्पण हुनेछ, जसले अन्तरिक्षमा खुलिसकेपछि मोटरचालित प्रणालीमार्फत सूर्यको प्रकाशलाई पृथ्वी तर्फ मोड्नेछ। कम्पनीले मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकबाट विशेष निर्देशांक (अक्षांश-देशान्तर) लिएर सम्बन्धित क्षेत्रलाई उज्यालो बनाउने सुविधा उपलब्ध गराउने तयारी गरेको छ।

तर यो उज्यालो सीमित अवधिका लागि मात्रै उपलब्ध हुनेछ, किनकि पृथ्वीको तल्लो कक्षामा उपग्रहहरू अत्यन्त तीव्र गतिमा चल्ने भएकाले कुनै एक स्थानमा एकपटकमा करिब चार मिनेट मात्रै प्रकाश दिन सक्नेछन्। निरन्तर प्रकाशका लागि कम्पनीले हजारौं उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ।

एक उपग्रहले करिब पाँच किलोमिटर चौडाइको गोलाकार क्षेत्र उज्यालो बनाउन सक्ने बताइएको छ। कम्पनीको अनुमानअनुसार यो प्रकाशको चमक ०.८ देखि २.३ लक्स सम्म हुनेछ, जुन पूर्णिमाको चन्द्रप्रकाश बराबर वा अलिकति बढी महसुस हुन सक्छ, तर दिनको उज्यालोजस्तो भने हुनेछैन।

यो प्रविधि विपद् क्षेत्र, जंगल, समुद्री उद्धार अभियान र खोज अभियानमा उपयोगी हुन सक्नेछ, जहाँ तत्काल प्रकाश व्यवस्था उपलब्ध गराउन कठिन हुन्छ। कम्पनीले आफ्नो पहिलो प्रोटोटाइप उपग्रह ईरेंडिल-१ को योजना पनि बनाएको छ, जसलाई करिब ६४० किलोमिटर उचाइमा पठाइनेछ।

यसमा १८ मिटर चौडा दर्पण हुनेछ र यसले करिब ४.८ किलोमिटर क्षेत्र उज्यालो बनाउन सक्नेछ। दीर्घकालीन योजनाअनुसार कम्पनीले २०२८ सम्म १,०००, २०३० सम्म ५,००० र २०३५ सम्म ५०,००० उपग्रहहरूको सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ।