कीवर्डहरू -

सट्टेवाजी एप र वेबसाइट बन्द: कडा कारबाहीको चेतावनी

सट्टेवाजी एप र वेबसाइट बन्द: कडा कारबाहीको चेतावनी

सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालभर सट्टेवाजी (बेटिङ) एप तथा तीसम्बन्धी वेबसाइटहरू बन्द गरिसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता सबै विद्युतीय माध्यम तत्काल बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची स्वीकृत गर्दै ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेवाजी एप र तीसम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने’ भन्ने बुँदा (४२) पारित गरेको थियो। सोहीअनुसार मन्त्रालयको पुस १५ गतेको मन्त्रीस्तरीय निर्णयले प्राधिकरणलाई आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको थियो। हाल पहिचान भएका सम्पूर्ण सट्टेवाजी एप तथा वेबसाइटहरू बन्द गरिएको मन्त्रालयले जनाएको छ।

null

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा सट्टेवाजी गर्न वा गराउन नहुने प्रावधान रहेको छ। उक्त कसूरमा प्रयोग भएको विगो जफत गरी एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले पनि जुवा वा सट्टेवाजीमा प्रोत्साहन गर्ने विज्ञापन गर्न नहुने भनी स्पष्ट उल्लेख गरेको छ। सो विपरीत गर्नेलाई एक वर्ष कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने मन्त्रालयले चेतावनी दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव उदय बहादुर रानामगरले कानूनी व्यवस्थाको विपरीत हुने गरी नेपालमा सट्टेवाजी एप तथा वेबसाइट सञ्चालन र प्रयोग नगर्न, नगराउन अनुरोध गरेका छन्। साथै, यस्तो कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम सम्बन्धित निकायबाट कडा कारबाही गरिने उल्लेख गरेका छन्।

यस्ता गतिविधि देखेमा जानकारी दिनका लागि नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामीछानेको मोबाइल नम्बर ९८५११५३७९३ वा इमेल [email protected] मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।