सिंहदरबार प्रवेश गर्न अब झनै सहज भएको छ । नेपाल सरकारले नागरिक एप (Nagarik App) मार्फत नै गेट पासको व्यवस्था मिलाएको छ । यसअघि छुट्टै वेबसाइटमार्फत लिनुपर्ने अनुमति पत्र अब एउटै मोबाइल एप्लिकेसनबाट प्राप्त गर्न सकिने भएको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) ले विकास गरेको यो एपमा हालै ‘गेट पास’ सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाइएको छ । एपको नयाँ संस्करण (२.०.४७) मा क्यूआर कोड स्क्यानको क्षमतामा सुधार गरिएको र गेट पास अनुरोध प्रक्रियालाई सहज बनाइएको उल्लेख गरिएको छ ।
के छ सुविधा ?
नागरिक एप प्रयोगकर्ताले अब आफूले भेट्न चाहेको कार्यालय, मिति र समय उल्लेख गरी सिधै एपबाटै प्रवेश अनुमतिका लागि आवेदन दिन सक्छन् । आवेदन स्वीकृत भएपछि एपभित्रै क्यूआर कोड जेनरेट हुन्छ । सिंहदरबारको गेटमा उक्त क्यूआर कोड स्क्यान गरेर सहज रुपमा प्रवेश पाउन सकिन्छ ।
यसअघि सिंहदरबार प्रवेशका लागि गृह मन्त्रालयले सुरु गरेको ई–गेट पास प्रणाली छुट्टै पोर्टलमार्फत सञ्चालनमा थियो । तर, अब यो सेवालाई नागरिक एपसँग जोडेर थप प्रयोगकर्तामैत्री बनाइएको हो । यसले सेवाग्राहीलाई एउटै प्लेटफर्ममार्फत धेरै सरकारी सेवा लिन सक्ने सुविधा प्रदान गर्दछ ।
के–के सेवा छन् एपमा ?
नागरिक एप सरकारी सेवाहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले विकास गरिएको हो । हाल यस एपमार्फत २५ वटा भन्दा बढी सेवाहरू लिन सकिन्छ । जसमा प्रहरी सफाइ प्रतिवेदन (पुलिस क्लियरेन्स), मतदाता परिचयपत्र, स्वास्थ्य बीमा, ट्राफिक जरिवानाको विवरण, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवाहरू रहेका छन् ।
सरकारले यसको माध्यमबाट भौतिक रुपमा कार्यालय धाउनुपर्ने बाध्यता हटाई डिजिटल कारोबारलाई प्रोत्साहन गर्न खोजेको छ । एपले सार्वजनिक बिदाका दिनमा समेत २४ घण्टा सेवा उपलब्ध गराउने सुविधा दिएको छ ।
यो नयाँ व्यवस्थाले नागरिकहरूलाई प्रशासनिक केन्द्र सिंहदरबारमा हुने लामो लाइन र झन्झटबाट मुक्ति दिने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार