कीवर्डहरू -

ग्लोबल आइएमई बैंकद्वारा दोस्रो संस्करणको 'एआई/एमएल ह्याकाथन' आयोजना हुने, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा दोस्रो संस्करणको 'एआई/एमएल ह्याकाथन' आयोजना हुने, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ।

बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक 'एआई/एमएल ह्याकाथन' को पहिलो संस्करण आयोजना गरेको थियो। सोही सफलतालाई निरन्तरता दिँदै बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी 'ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन' को दोस्रो संस्करण आगामी सन् २०२६ मे महिनाको २९ देखि ३१ गतेसम्म आयोजना गर्ने भएको छ।

उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मीहरूका लागि आवेदन खुल्ला गरिएको छ। प्रतियोगितामा सहभागी हुन आगामी मे ४, २०२६ भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ।

पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेकोले बैंकले यस ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्न लागेको हो।

यस प्रतियोगिताले प्रविधिमा रुचि राख्ने नवप्रतिभा तथा पेसाकर्मीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाको विकासमा उल्लेख्य सहयोग पुग्ने बैंकको विश्वास छ। यसका साथै, यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम सेवा विकास र सम्भावित चुनौतीको समाधान खोज्न समेत मद्दत पुर्‍याउनेछ।