कीवर्डहरू -

गुगलद्वारा अन्ततः इमेल एड्रेस परिवर्तन गर्न मिल्ने सुविधा सार्वजनिक

गुगलद्वारा अन्ततः इमेल एड्रेस परिवर्तन गर्न मिल्ने सुविधा सार्वजनिक

गुगलले प्रयोगकर्ताहरूलाई आफ्नो इमेल ठेगाना परिवर्तन गर्न सकिने नयाँ सुविधा उपलब्ध गराउन थालेको छ। हालका लागि यो सुविधा संयुक्त राज्य अमेरिकामा रहेका प्रयोगकर्ताहरूमा मात्र सीमित छ भने निकट भविष्यमा अन्य देशहरूमा पनि विस्तार हुने अपेक्षा गरिएको छ।

पछिल्लो केही महिनादेखि प्रयोगकर्ताले आफ्नो इमेल ठेगाना र युजरनेम परिवर्तन गर्न पाउने भन्ने चर्चा इन्टरनेटभरि फैलिएको थियो। अब भने गुगलले अमेरिकामा रहेका प्रयोगकर्ताका लागि यो सुविधा औपचारिक रूपमा उपलब्ध गराउन थालेको हो। यससँगै लामो समयदेखि अप्ठ्यारो वा असहज युजरनेम प्रयोग गर्दै आएका प्रयोगकर्ताले त्यसलाई परिवर्तन गर्न सक्ने भएका छन्।

हाल यो सुविधा पूर्ण रूपमा सबै प्रयोगकर्तामा लागू भइसकेको छैन। प्रारम्भिक चरणमै रहेकाले सबैमा उपलब्ध हुन केही समय लाग्न सक्छ। अमेरिका बाहिर रहेका प्रयोगकर्ताले भने यो सुविधा विश्वव्यापी रूपमा उपलब्ध हुन अझ केही समय पर्खनुपर्नेछ।

यो प्रक्रियामा केही महत्वपूर्ण कुरा ध्यान दिनुपर्नेछ। प्रयोगकर्ताले वर्षमा एकपटक मात्रै युजरनेम परिवर्तन गर्न पाउनेछन्। यदि परिवर्तन गर्ने क्रममा टाइपिङ गल्ती वा अन्य कुनै त्रुटि भयो भने पुनः सुधारका लागि अर्को वर्षसम्म पर्खनुपर्ने हुन्छ। यद्यपि, गुगलले पहिलेको युजरनेममा फर्किने विकल्प भने उपलब्ध गराएको छ। तर नयाँ युजरनेम पुनः सिर्जना गर्न भने प्रयोगकर्ताले ३० दिन कुर्नुपर्ने हुन्छ।

जिमेल युजरनेम परिवर्तन गर्नका लागि सबैभन्दा पहिले गुगल अकाउन्टको सेटिङ्समा गएर Personal Info मा क्लिक गर्नुपर्छ। त्यसपछि Email मा क्लिक गरेर आफ्नो गुगल अकाउन्ट इमेल चयन गर्नुपर्ने हुन्छ। त्यसपछि Change Google Account Email भन्ने विकल्प देखिनेछ, जसमा क्लिक गरेर आफूलाई उपयुक्त नयाँ युजरनेम छान्न सकिन्छ र सेभ गर्न सकिन्छ।

गुगलको यो नयाँ सुविधाले प्रयोगकर्तालाई आफ्नो डिजिटल पहिचानलाई अझ सहज र व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।