ई–बुकिङ नेपाल प्रा. लि. र पाटन स्टे एसोसिएसनबीच पाटन क्षेत्रको हेरिटेज पर्यटन प्रवर्द्धन तथा डिजिटल बुकिङ प्रणाली विस्तार गर्ने उद्देश्यले रणनीतिक सहकार्य सम्झौता भएको छ ।
पाटन स्टे एसोसिएसनले पाटन हेरिटेज क्षेत्रभित्र रहेका होमस्टे, हेरिटेज होम, बिएनबी, होटल, लज तथा अपार्टमेन्टहरूको प्रतिनिधित्व गर्दछ । सो सहकार्यअनुसार ई–बुकिङ नेपाल एसोसिएसनका सदस्य सम्पत्तिहरूको एक्सक्लुसिभ डिजिटल बुकिङ पार्टनर रहनेछ ।
सम्झौता पत्रमा पाटन स्टे एसोसिएसनका अध्यक्ष प्रकाश राजभण्डारी र ई–बुकिङ नेपाल प्रा. लि.का प्रमुख सञ्चालन अधिकृत (सीओओ) अनिल रिजालले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यमार्फत पाटन क्षेत्रका सहभागी आवास सेवाहरूलाई एउटै अनलाइन प्लेटफर्ममा ल्याइनेछ, जसले स्वदेशी तथा विदेशी पर्यटकलाई सजिलै बुकिङ गर्न सहयोग पुर्याउनेछ । साथै, ई–बुकिङ नेपाल प्लेटफर्ममा ‘पाटन हेरिटेज स्टे’ नामको विशेष श्रेणी तयार गरिनेछ ।
यस पहलअन्तर्गत सहभागी सम्पत्तिहरूमा क्यूआर आधारित बुकिङ प्रणाली लागू गरिनेछ, जसले अतिथिहरूलाई प्रत्यक्ष अनलाइन बुकिङ गर्न सहज बनाउनेछ । दुवै संस्थाले संयुक्त रूपमा पाटनको संस्कृति, सम्पदा तथा पर्यटन गतिविधिहरूको डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्नेछन् ।
यो सहकार्यले स्थानीय आवास व्यवसायलाई सहयोग पुर्याउने, डिजिटल बुकिङ बढाउने तथा पाटनलाई प्रमुख हेरिटेज स्टे गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । यस साझेदारीले नेपालको पर्यटन क्षेत्रलाई स्थानीय तहबाट व्यवस्थित गर्ने प्रयासलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।
आईसीटी समाचार