एन्थ्रोपिकले आफ्नो क्लड एआई (Claude AI) तेस्रो पक्षका एप तथा टुलमार्फत प्रयोग गर्ने प्रयोगकर्ताका लागि अब निःशुल्क सुविधा उपलब्ध नगराउने घोषणा गरेको छ।
क्लड कोडका प्रमुख बोरिस चेर्नीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै, अब क्लडको सामान्य सब्सक्रिप्सनले ओपन क्लजस्ता तेस्रो पक्षका टुलहरूमा एआई एजेन्टलाई निःशुल्क प्रयोग गर्न नपाइने बताएका छन्।
उनका अनुसार, अप्रिल ४ को दिउँसो ३ बजेदेखि लागू हुने यो निर्णयअनुसार तेस्रो पक्षका एप वा सफ्टवेयरमार्फत क्लड प्रयोग गर्न चाहनेहरूले अतिरिक्त युसेज बन्डल किन्नुपर्ने वा क्लड एपीआई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनीले यो कदम बढ्दो माग व्यवस्थापन गर्न र सेवा स्थिरता कायम राख्नका लागि लिएको जनाएको छ।
क्लड एआईको अधिकांश प्रयोग सामान्य प्रयोगकर्ताका साधारण प्रश्नहरूमा केन्द्रित भए पनि केही प्रयोगकर्ताले यसलाई ओपन क्लमार्फत पनि प्रयोग गर्दै आएका छन्। ओपन क्ल एक निःशुल्क तथा ओपन–सोर्स एआई सहायक हो, जसलाई मल्टबुकका विकासकर्ताले तयार पारेका हुन्।
सामान्य एआई समाधानहरूभन्दा फरक, ओपन क्ल व्यक्तिगत कार्यहरू स्वचालित बनाउन डिजाइन गरिएको छ। यसले इनबक्स व्यवस्थापन, इमेल पठाउने र क्यालेन्डर मिलाउनेजस्ता कामहरू सहज बनाउँछ।
यद्यपि, ओपन क्ल (Open Claw) आफैं पूर्ण एआई प्रणाली भने होइन। यसले काम गर्नका लागि ठूला भाषा मोडेलहरूमा निर्भर रहन्छ, जसमा क्लड, च्याटजिपिटी र गुगल जेमिनी जस्ता सेवाहरू समावेश छन्।
बोरिस चेर्नीले क्लड एआईमा गरिएको पछिल्लो परिवर्तनबारे प्रस्ट पार्दै, यो निर्णय इन्जिनियरिङ सीमितता र प्रणाली अनुकूलनसँग सम्बन्धित रहेको बताएका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भने, “हामी क्लडको बढ्दो माग पूरा गर्न निरन्तर काम गरिरहेका छौं, तर हाम्रो सब्सक्रिप्सन प्रणाली तेस्रो पक्षका टुलहरूको प्रयोग ढाँचाअनुसार डिजाइन गरिएको थिएन।”
उनका अनुसार, क्षमता सीमित स्रोत भएकाले त्यसको उचित व्यवस्थापन आवश्यक हुन्छ। “हामी आफ्ना उत्पादन र एपीआई प्रयोग गर्ने ग्राहकहरूलाई प्राथमिकता दिइरहेका छौं,” उनले उल्लेख गरे।
ओपन क्ल प्रयोगकर्ताहरूले अझै एन्थ्रोपिकको सेवा प्रयोग गर्न चाहने हो भने अब अतिरिक्त युसेज बन्डल खरिद गर्नुपर्नेछ। हाल त्यस्ता बन्डलमा केही छुट पनि उपलब्ध रहेको बताइएको छ।
वैकल्पिक रूपमा, प्रयोगकर्ताहरू एक्स एआई, परप्लेक्सिटी वा डिपसिकजस्ता अन्य एआई एकीकरणतर्फ सर्न सक्नेछन्।
यसैबीच, एन्थ्रोपिकले आफ्नै विकल्प पनि अघि सारेको छ, जसले ओपन क्लजस्तै केही कामहरू गर्न सक्ने बताइएको छ। उक्त टुललाई क्लड कोवर्क नाम दिइएको छ, जसले प्रयोगकर्ताका व्यक्तिगत कार्यहरू व्यवस्थापन र स्वचालित गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ।
आईसीटी समाचार