सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने उद्देश्यसहित नागरिक एपमा थप सेवा विस्तार गरेको छ। नागरिक एपको नयाँ संस्करण २.०.९४ मा नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र प्रमाणीकरण, लोकसेवा आयोगका परीक्षार्थीका लागि प्रवेशपत्रको पीडीएफ एक्सपोर्ट, तथा ओपीसीआर आवेदनको डाउनलोड प्रगति ट्र्याकिङ सुविधा समावेश गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार निजामती कर्मचारीको व्यक्तिगत विवरण, वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) र अन्य नागरिक सेवा पनि अब नागरिक एपमार्फत उपलब्ध गराउने तयारी पूरा भएको छ।
यसअघि नै प्रहरी चारित्रिक प्रमाणपत्र सेवा एपमार्फत उपलब्ध भइसकेको छ। नयाँ अपडेटसँगै नागरिक एपलाई अझ प्रभावकारी “वान–स्टप डिजिटल सेवा प्लेटफर्म” का रूपमा विकास गर्ने सरकारको लक्ष्य थप मजबुत भएको छ।
सरकारले विभिन्न निकायका सेवा एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै नागरिकलाई लाइनमा बस्नुपर्ने बाध्यता घटाउने र सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने योजना अघि बढाएको छ।
आईसीटी समाचार