कीवर्डहरू -

इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने

इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्दै अब कमेन्ट सम्पादन (एडिट) गर्ने विकल्प उपलब्ध गराएको छ । यससँगै प्रयोगकर्ताले पोस्टमा गरेको कमेन्टमा भएका गल्तीहरू पोस्ट गरेपछि पनि सच्याउन सक्ने भएका छन् ।

कम्पनीका अनुसार यो फिचर चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म विस्तार भइरहेको छ । नयाँ अपडेटपछि प्रयोगकर्ताले कमेन्ट पोस्ट गरेको १५ मिनेटभित्र त्यसलाई परिमार्जन गर्न सक्नेछन् । सो अवधिभित्र चाहेजति पटक कमेन्ट संशोधन गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो कमेन्टमा ट्याप गर्दा देखिने ‘एडिट’ विकल्प रोज्नुपर्ने हुन्छ । त्यसपछि खुल्ने पप–अपमा आवश्यक परिवर्तन गरेर पुन: सेभ गर्न सकिन्छ । तर, कमेन्टमा संलग्न तस्बिर वा अन्य मिडिया फाइल भने परिवर्तन गर्न नपाइने जनाइएको छ ।

पारदर्शिता कायम राख्न एडिट गरिएको कमेन्टमुनि ‘Edited’ भन्ने संकेत देखिनेछ, जसले अन्य प्रयोगकर्तालाई उक्त कमेन्ट संशोधन गरिएको जानकारी दिनेछ । यद्यपि, यसमा हिस्ट्री हेर्ने सुविधा छैन, जसका कारण पहिलेको सामाग्री हेर्न सकिने छैन ।

इन्स्टाग्रामको यो नयाँ अपडेटले सानो त्रुटिका कारण कमेन्ट हटाउनु पर्ने बाध्यता हटाउँदै प्रयोग अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।