काठमाडौं । सामाजिक सञ्जालमा पहिचान दुरुपयोगको समस्या दिनानुदिन गहिरिँदै गएको छ । प्रयोगकर्ताको नाम, फोटो र व्यक्तिगत विवरण प्रयोग गरेर नक्कली आइडी खोलिने क्रम बढेसँगै डिजिटल स्पेसमा नयाँ किसिमको जोखिम देखिन थालेको छ ।
यसैबीच सामाजिक सञ्जाल Facebook मा हालै देखिएको एक घटनाले यो समस्या झन् उजागर गरेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) को आधिकारिक फेसबुक पेज अचानक निलम्बित भएपछि उनका नाममा खोलिएका नक्कली अकाउन्टहरू तीव्र रूपमा फैलिन थालेका छन् ।
करिब १४ लाखभन्दा बढी फलोअर रहेको उनको आधिकारिक पेज गत बिहिबारदेखि उपलब्ध छैन । पेज नदेखिएपछि सुरुमा ह्याक भएको आशंका गरिएको थियो । तर पछि सार्वजनिक गरिएको विवरण अनुसार पेज सामाजिक सञ्जाल Meta ले नीतिगत कारण देखाउँदै सस्पेन्ड गरेको हो ।
पेज बन्द भएपछि सामाजिक सञ्जालमा उनका नाम र फोटो प्रयोग गरेर धेरै नक्कली प्रोफाइल सक्रिय भएको देखिएको छ । यी प्रोफाइलमार्फत विभिन्न पोस्ट, सन्देश र दाबीहरू फैलाइँदा प्रयोगकर्ताहरूमा भ्रम बढेको छ । केही प्रयोगकर्ताले यस्ता अकाउन्टले गलत सूचना फैलाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यो घटनाले सामाजिक सञ्जालमा “पहिचानको नियन्त्रण कसको हातमा हुन्छ ?” भन्ने प्रश्न फेरि उठाएको छ । एकातर्फ प्लेटफर्मले नियमअनुसार कारबाही गर्ने अधिकार प्रयोग गरिरहेको छ भने अर्कोतर्फ नक्कली पहिचानको बाढीले प्रयोगकर्ताको विश्वास नै कमजोर बनाइरहेको छ ।
साइबर सुरक्षाविद्हरूका अनुसार यस्तो गतिविधि ‘इम्पर्सोनेसन’ हो, जसमा कसैको नाम र फोटो प्रयोग गरेर नक्कली पहिचान बनाइन्छ । यसले व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र कहिले काहीँ आर्थिक सुरक्षा समेत जोखिममा पार्न सक्छ ।
यसैबीच एक प्रयोगकर्ताले आफ्नो अनुभव सुनाउँदै भने, “मेरो नाम र फोटो प्रयोग गरेर कसैले नक्कली आइडी बनाएको रहेछ । साथीहरूलाई त्यसै आइडीबाट म्यासेज पठाएर पैसा मागिएको रहेछ । पछि मात्र थाहा पाएँ ।” उनले तत्काल उक्त अकाउन्ट रिपोर्ट गरेपछि केही समयपछि बन्द गरिएको बताए ।
विशेषज्ञहरूका अनुसार नक्कली आइडीले व्यक्तिगत प्रतिष्ठा मात्र होइन, आर्थिक जोखिम समेत निम्त्याउन सक्छ । उनीहरूले प्रयोगकर्तालाई बलियो पासवर्ड प्रयोग गर्न, Two-Factor Authentication सक्रिय गर्न र अपरिचित फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न सुझाव दिएका छन् ।
Facebook ले भने यस्ता गतिविधिविरुद्ध रिपोर्ट गर्ने सुविधा उपलब्ध गराएको छ । प्रयोगकर्ताले “Find support or report profile” विकल्प प्रयोग गरी “Pretending to be someone” मा उजुरी दिन सक्नेछन् ।
यस्तै, गम्भीर ठगी वा धम्कीजन्य गतिविधि भएमा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिन सकिने व्यवस्था रहेको छ । डिजिटल युगमा सामाजिक सञ्जालले जोड्ने काम गरेपनि यही प्लेटफर्म अब पहिचान दुरुपयोग र नक्कली उपस्थितिको नयाँ चुनौतीसँग जुधिरहेको स्पष्ट देखिन्छ ।
आईसीटी समाचार