कीवर्डहरू -

व्हाट्सएप ग्रुपमा नयाँ परिवर्तन : मेसेज हिस्ट्री सेयर गर्न सकिने

व्हाट्सएप ग्रुपमा नयाँ परिवर्तन : मेसेज हिस्ट्री सेयर गर्न सकिने

काठमाडौं । WhatsApp ले यस वर्ष फेब्रुअरी २० मा ग्रुप च्याटका लागि “मेसेज हिस्ट्री” नामक नयाँ सुविधा सुरु गरेको थियो, जुन हाल एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ । यस सुविधाले ग्रुपमा नयाँ सदस्य थपिँदा पुराना कुराकानी पनि देखाउन मिल्ने व्यवस्था गरेको छ ।

यसअघि ग्रुपमा नयाँ सदस्य जोडिँदा पुराना मेसेज नदेखिने भएकाले कुराकानीको सन्दर्भ बुझ्न कठिनाइ हुने समस्या थियो । तर अब ग्रुप एडमिनले आवश्यकता अनुसार पुराना मेसेज हिस्ट्री पनि नयाँ सदस्यलाई सेयर गर्न सक्ने भएकाले यो समस्या समाधान भएको कम्पनीले जनाएको छ ।

एन्ड्रोइड र आईओएस दुवैमा यो सुविधा प्रयोग गर्न सकिने गरी प्रक्रिया सरल बनाइएको छ । ग्रुप एडमिनले सबैभन्दा पहिले आफूले चाहेको ग्रुप च्याट खोल्नुपर्छ । त्यसपछि माथि देखिने ग्रुपको नाममा ट्याप गरेर वा होम स्क्रिनबाट ग्रुपलाई लामो समय थिचेर “ग्रुप जानकारी” (Group Info) मा जान सकिन्छ ।

नयाँ सदस्य थप्ने क्रममा नाम वा फोन नम्बर खोजेर चयन गर्नुपर्छ । सदस्य थप्ने क्रममा “मेसेज हिस्ट्री” विकल्प देखिन्छ, जहाँबाट कति पुराना मेसेज पठाउने भन्ने छनोट गर्न सकिन्छ । अन्त्यमा “Add Members” र “Continue” मा ट्याप गरेपछि नयाँ सदस्यले पुराना कुराकानी पनि हेर्न सक्ने व्यवस्था हुन्छ ।

यसैगरी, “Send Message History” फिचर अन वा अफ गर्न पनि सकिन्छ । यसको लागि प्रयोगकर्ताले ग्रुपको नाममा ट्याप गरेर सेटिङमा जानुपर्छ । त्यसपछि “Group Permissions” विकल्पमा क्लिक गर्नुपर्छ । त्यहाँ “Send Message History” नामक विकल्प उपलब्ध हुन्छ, जसलाई आवश्यकता अनुसार अन वा अफ गर्न सकिन्छ ।

यो सुविधाले ग्रुप च्याटलाई अझ व्यवस्थित बनाउने, नयाँ सदस्यलाई कुराकानी बुझ्न सहज बनाउने र ग्रुप व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।