कीवर्डहरू -

रोजगार सेवा अब एउटै प्रणालीमा : ‘श्रम संसार’ अनिवार्य

रोजगार सेवा अब एउटै प्रणालीमा : ‘श्रम संसार’ अनिवार्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारी सम्बन्धी सम्पूर्ण सेवाहरूलाई एउटै डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरेको छ । मन्त्रालयले ‘श्रम संसार’ नामक एकीकृत प्लेटफर्ममार्फत सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको हो ।

मन्त्रालयका अनुसार अब श्रम तथा रोजगारीसँग सम्बन्धित सबै डिजिटल प्रणालीलाई ‘श्रम संसार’मा समेटेर एउटै माध्यमबाट सञ्चालन गरिनेछ । यसले सेवा प्रवाहलाई सहज बनाउनुका साथै जानकारी आदान प्रदानलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्था अनुसार निजी क्षेत्रका रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, रोजगार एजेन्सी तथा तालिम प्रदायक संस्थाहरूलाई अनिवार्य रूपमा उक्त प्रणालीमा दर्ता हुन आह्वान गरिएको छ । दर्ता भएका सबै पक्षले रोजगारी सम्बन्धी सूचना, विज्ञापन तथा तालिमका अवसर यही प्लेटफर्ममार्फत सार्वजनिक गर्नुपर्नेछ ।

मन्त्रालयले यस प्रणालीले आन्तरिक रोजगारी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । साथै, सेवाग्राही र सरोकारवालालाई डिजिटल माध्यममा आबद्ध गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्य रहेको जनाएको छ ।

हाल ‘श्रम संसार’ अनलाइन पोर्टल अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको अवस्थामा मन्त्रालयले यसको उपयोग विस्तार गर्दै सबै सम्बन्धित पक्षलाई सक्रिय रूपमा आबद्ध हुन आग्रह गरेको छ । यसले रोजगारी व्यवस्थापन प्रणालीलाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।