कीवर्डहरू -

माइक्रोसफ्टको नयाँ परीक्षण : एजबाटै विन्डोजका नयाँ फिचर थाहा पाउन सकिने

माइक्रोसफ्टको नयाँ परीक्षण : एजबाटै विन्डोजका नयाँ फिचर थाहा पाउन सकिने

काठमाडौं । माइक्रोसफ्टले पीसी प्रयोगकर्ताको कार्यक्षमता बढाउन नयाँ तरिका अपनाउँदै अब विन्डोजका नयाँ फिचरहरूबारे जानकारी दिने काम माइक्रोसफ्ट एजमार्फत सुरु गरेको छ ।

केही महिनादेखि एज भित्रै नयाँ सुविधा देखाउने प्रणाली प्रयोग गर्दै आएको कम्पनीले अब विन्डोज अपडेटका नयाँ क्षमताहरू पनि सोही माध्यमबाट प्रयोगकर्तासम्म पुर्‍याउन थालेको छ । यसले मासिक अपडेटमार्फत आउने नयाँ फिचरहरू सजिलै थाहा पाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

माइक्रोसफ्टले हाल माइक्रोसफ्ट एज ब्राउजरमार्फत विन्डोजका नयाँ फिचरहरूबारे जानकारी दिने नयाँ प्रणाली परीक्षण गरिरहेको छ । यसअन्तर्गत प्रयोगकर्ताले “ट्राई नाउ” जस्ता बटनमार्फत सीधै नयाँ सुविधा प्रयोग गर्न सक्छन्, जस्तै स्निपिङ टुलबाट क्याप्चर गरिएका डकुमेन्टमा मार्कअप गर्ने सुविधा ।

हालसम्म यो फिचर एज ब्राउजरमै सीमित देखिएको छ, जसको कारण स्पष्ट छैन, तर माइक्रोसफ्टले यसलाई प्रयोगकर्तासम्म नयाँ विन्डोज अपडेटका सुविधाहरू पुर्‍याउने माध्यमका रूपमा प्रयोग गरिरहेको देखिन्छ ।

हालै देखिएका नयाँ फिचरहरूमा नोटिफिकेशन सेन्टरमा ठूलो घडी, इमोजी प्यानललाई टास्कबारमा पिन गर्ने सुविधा र कोपाइलटमार्फत डकुमेन्ट सारांश गर्ने क्षमता पनि समावेश छन् ।

कतिपय प्रयोगकर्ताहरूले यसलाई “अझै धेरै विज्ञापन” भनेर बुझ्न सक्छन्, तर माइक्रोसफ्टले भने यसलाई नयाँ फिचरबारे उपयोगी जानकारी दिने माध्यमका रूपमा प्रस्तुत गरेको छ । विशेष गरी कोपाइलटमार्फत डकुमेन्ट अपलोड गर्ने जस्ता सुविधाहरू केही समयदेखि व्यापक रूपमा प्रचार भइरहेका छन् ।

माइक्रोसफ्टका अनुसार विन्डोजमा आउने नयाँ फिचरहरू प्रयोगकर्तासम्म पुर्‍याउन सूचना दिनु आवश्यक हुन्छ, नत्र ती फिचरहरू प्रयोग नहुने र अन्तत: हट्न सक्ने जोखिम रहन्छ । तर यसैबीच, अत्यधिक सूचना र विज्ञापनबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण रहेको कम्पनीका इन्जिनियरहरूले पनि स्वीकार गरेका छन् ।

प्रयोगकर्तालाई पहिले नै व्यापक रूपमा प्रचार भइसकेका फिचरहरू, जस्तै कोपाइलटको सारांश बनाउने क्षमता, बारम्बार सम्झाउन बाध्य पार्ने शैली सबैलाई मन नपर्न सक्छ । तर केही प्रयोगकर्ताका लागि उपयोगि पनि देखिन्छ । अन्तत: चाहनुहुन्छ भने त्यस्ता सूचना ट्याब बन्द गरेर सिधै आफ्नो कामतर्फ जान पनि सकिन्छ ।