काठमाडौं । बेल्जियमस्थित नेपाली दूतावासले यूकेमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा परामर्श कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा नेपाल–इयू टेक फोरम २०२६ आयोजना गर्ने भएको छ । उक्त फोरम आगामी अप्रिल २७ मा ब्रसेल्सस्थित युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजमा आयोजना हुनेछ ।
फोरमको उद्देश्य नेपाललाई युरोपका लागि विश्वसनीय र विस्तारयोग्य प्रविधि तथा प्रतिभा साझेदारका रूपमा स्थापित गर्नुका साथै नीति निर्माता, लगानीकर्ता, स्टार्टअप तथा प्रविधि क्षेत्रका नेतृत्व बीच सार्थक संवाद प्रवर्द्धन गर्नु हो । यसले नेपाल र युरोप बीच सीमापार लगानी, अनुसन्धान सहकार्य तथा नवप्रवर्तन साझेदारीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल, बेल्जियम, संयुक्त अधिराज्य, द नेदरल्यान्ड्स, फ्रान्स, जर्मनी, लक्जेम्बर्ग लगायतका युरोपेली देशहरूबाट सम्बन्धित सरकार तथा नीति निर्माण निकाय, व्यवसाय तथा नवप्रवर्तन इकोसिस्टम, प्रविधि क्षेत्रका अगुवा, नेपाली प्रविधि समुदाय, प्रवासी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू समेत झन्डै १०० जना सहभागी हुनेछन् ।
कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूतको उद्घाटन मन्तव्य रहनेछ भने बेल्जियन सरकार वा युरोपेली इकोसिस्टमका प्रतिनिधिबाट विशेष सम्बोधन गरिनेछ । “नेपालको डिजिटल इकोसिस्टमस् प्रतिभा, नवप्रवर्तन र साझेदारीका अवसरहरू” विषयक प्रमुख मन्तव्यले नेपालको डिजिटल क्षेत्रका सम्भावनाहरू उजागर गर्ने जनाएको छ ।
फोरममा प्रत्यक्ष वैदेशिक लगानी, स्टार्टअप विकास, दिगो डिजिटल वृद्धि, प्रवासी संलग्नता, प्रतिभा आवागमन तथा सीमापार नवप्रवर्तनका विषयमा दुई उच्चस्तरीय प्यानल छलफल गरिने जनाएको छ । साथै, सहभागीहरूबीच सहकार्यका अवसरहरू विस्तार गर्न नेटवर्किङ लन्च तथा रिसेप्सनको पनि आयोजना गरिने जनाएको छ ।
यो फोरम प्रत्यक्ष कारोबारमुखी प्लेटफर्म नभएपनि यसबाट संस्थागत संवाद सुदृढीकरण, साझेदारीका मार्ग पहिचान, व्यवसाय तथा नेटवर्क विस्तार, प्रवासी संलग्नता सम्बन्धी ढाँचा विकास तथा दीगो सहकार्यका लागि अनुगमन संयन्त्र स्थापना जस्ता महत्वपूर्ण उपलब्धिहरू हासिल हुने अपेक्षा गरिएको छ । बेल्जियमस्थित नेपाली दूतावासको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा जेनेस सलुशन रणनीतिक आयोजकका रूपमा रहेको छ भने फिन्नोभा सहकार्य साझेदारको रूपमा रहेको छ ।
जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने, “नेपाल–इयू टेक फोरम २०२६ नेपालका विकसित हुँदै गएको डिजिटल इकोसिस्टम र युरोपका नवप्रवर्तन तथा लगानी सञ्जालबीच दीर्घकालीन पुलका रूपमा काम गर्ने उद्देश्यले आयोजना गरिएको हो । यसले संस्थागत सहकार्य, स्पष्ट साझेदारी ढाँचा तथा नेपाली डायस्पोराको सक्रिय सहभागिता मार्फत नवप्रवर्तन सम्बन्ध सुदृढ बनाउन सहयोग गर्नेछ ।”
त्यस्तै युरोपेली संघका लागि नेपालकी राजदूत सेवा लम्सालले प्रवासी नेपालीहरूको भूमिकामाथि जोड दिँदै भनिन्, “नेपालको नवनिर्वाचित सरकारले मुलुकलाई टेक हबको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य हासिल गर्न सघाउन आयोजना गरिन लागेको यो फोरमले युरोपेली संस्थाहरू र नेपालको नवप्रवर्तन इकोसिस्टमबीच सेतुका रूपमा नेपाली डायस्पोराको भूमिकालाई अझ सुदृढ बनाउनुका साथै परामर्श, मार्गदर्शन, बजार प्रवेश तथा विश्वसनीयता निर्माणमा सहयोग पुर्याउने हामीले अपेक्षा गरेका छौं ।”
यस फोरमले नेपाललाई एक विश्वसनीय डिजिटल साझेदारका रूपमा अन्तरराष्ट्रिय स्तरमा पहिचान दिलाउने तथा नेपाली स्टार्टअप र प्रविधि कम्पनीहरूलाई युरोपेली लगानीकर्ता, एक्सलरेटर तथा नवप्रवर्तन समूहहरूसँग दीर्घकालीन सहकार्यका लागि आधार तयार गर्ने अपेक्षा पनि गरिएको छ ।
आईसीटी समाचार