काठमाडौं । माइक्रोसफ्टले हालै प्रकाशित ब्लगमार्फत अधिकांश प्रयोगकर्ताका लागि अतिरिक्त एन्टिभाइरस सफ्टवेयर आवश्यक नपर्ने जनाएको छ । कम्पनीका अनुसार, Microsoft Defender antivirus नै दैनिक साइबर जोखिमबाट सुरक्षा दिन पर्याप्त हुन सक्छ ।
माइक्रोसफ्टले Windows 11 operating system लाई अहिलेसम्मकै सबैभन्दा सुरक्षित संस्करण भएको दाबी गरेको छ । यसमा डिफल्ट रूपमा सक्रिय रहेको Microsoft Defender प्रणालीमै गहिरो रूपमा समावेश छ र निरन्तर अपडेट हुँदै जान्छ । त्यसैले सामान्य प्रयोगकर्ताले थप सुरक्षा सफ्टवेयर प्रयोग नगरे पनि आधारभूत सुरक्षामा समस्या नआउने कम्पनीको भनाइ छ ।
ब्लग पोस्टअनुसार, प्रयोगकर्ताले डिफल्ट सुरक्षा सेटिङ सक्रिय राख्ने, नियमित रूपमा सिस्टम अपडेट गर्ने र इन्टरनेटबाट फाइल डाउनलोड गर्दा सावधानी अपनाउने हो भने Defender मात्रै पर्याप्त हुन सक्छ । साथै, Defender सँगै काम गर्ने SmartScreen ले मालिसियस फाइल तथा फिसिङ साइटहरूबाट पनि सुरक्षा प्रदान गर्छ ।
तर, माइक्रोसफ्टले सबै प्रयोगकर्ताका लागि एउटै समाधान उपयुक्त नहुन सक्ने पनि स्वीकार गरेको छ । धेरै डिभाइस व्यवस्थापन गर्ने, परिवारसँग कम्प्युटर साझा गर्ने वा identity monitoring तथा parental control जस्ता अतिरिक्त सुविधा आवश्यक पर्ने प्रयोगकर्ताका लागि थप एन्टिभाइरस उपयोगी हुन सक्छ ।
त्यस्तै, संवेदनशील डाटा सम्हाल्ने कर्पोरेट वातावरणमा अतिरिक्त सुरक्षा सफ्टवेयर आवश्यक पर्न सक्छ । थर्ड–पार्टी एन्टिभाइरस प्रयोग गर्नुअघि यसको फाइदा र बेफाइदा पनि विचार गर्नुपर्ने सुझाव दिइएको छ । यस्ता सफ्टवेयरले कम्प्युटरको RAM र CPU मा अतिरिक्त लोड पार्न सक्छन्, साथै केही अवस्थामा Microsoft Defender सँग द्वन्द्व (conflict) समेत हुन सक्छ ।
एउटै समयमा धेरै real-time scanner चलाउँदा प्रणालीमा समस्या देखिन सक्ने भएकाले सामान्यतया एउटा मात्र real-time एन्टिभाइरस प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिइएको छ ।
आईसीटी समाचार