काठमाडौं । एन्थ्रोपिकले आफ्नो एआई च्याटबोट क्लाउड (Claude) मा “कनेक्टेड सर्भिसेस” निर्देशिका विस्तार गर्दै स्पोटिफाइ, इन्स्टाकार्ट लगायतका लाइफस्टाइल एपहरूसँग जडान गर्ने नयाँ सुविधा सुरु गरेको छ ।
कम्पनीका अनुसार अब क्लाउड एआईले प्रयोगकर्ताका विभिन्न अनलाइन खाताहरूसँग जोडिएर अझ विस्तृत र जटिल कार्यहरू गर्न सक्नेछ । यस विस्तारसँगै एआई सेवाहरूलाई थप उपयोगी बनाउन तेस्रो पक्षीय एपहरूसँगको एकीकरण (इंटिग्रेसन) तीव्र पारिएको जनाइएको छ ।
एआई कम्पनीहरूबीच आफ्ना प्लेटफर्मलाई बहुप्रयोगी बनाउने प्रतिस्पर्धा बढिरहेका बेला क्लाउडको यो नयाँ अपडेट आएको हो । विभिन्न एपहरू एकैसाथ जोडिन सक्दा च्याटबोटले प्रयोगकर्ताका लागि यात्रा योजना बनाउने, संगीत सूची तयार गर्नेदेखि अनलाइन खरिद वा सेवा सम्बन्धी कार्यहरूमा सहयोग गर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।
उदाहरणका लागि, क्लाउडले प्रयोगकर्ताका लागि AllTrails जस्ता प्लेटफर्ममार्फत हाइकिङ योजना तयार गर्न सक्ने र त्यसअनुसार स्पोटिफाइमा यात्रा अवधिभर सुन्न मिल्ने प्लेलिस्ट पनि बनाइदिन सक्नेछ ।
एन्थ्रोपिकले एपहरूलाई प्रस्तुत गर्ने तरिकामा पनि परिवर्तन गरिएको जनाएको छ । अब प्रयोगकर्ताले विभिन्न एपहरू छुट्टाछुट्टै खोज्नुपर्ने नभई आवश्यक सेवाहरू च्याटबोट संवादमै गतिशील रूपमा सुझावका रूपमा देखिनेछन् ।
यद्यपि, कम्पनीले कुनै पनि आरक्षण, खरिद वा अन्य कार्य अघि बढाउनुअघि प्रयोगकर्ताको स्पष्ट स्वीकृति आवश्यक हुने स्पष्ट पारेको छ । यसले प्रयोगकर्ताको नियन्त्रण र सुरक्षा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
यो विस्तारसँगै क्लाउड एआई अब केवल व्यवसायिक र शैक्षिक प्रयोगमा सीमित नभई दैनिक व्यक्तिगत जीवनसँग पनि जोडिने दिशामा अघि बढेको विश्लेषण गरिएको छ ।
आईसीटी समाचार