कीवर्डहरू -

युनिभर्सल एसेप्टेन्स ह्याकाथन नेपाल २०२६ का लागि आवेदन खुला

युनिभर्सल एसेप्टेन्स ह्याकाथन नेपाल २०२६ का लागि आवेदन खुला

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले ‘युनिभर्सल एसेप्टेन्स’ सम्बन्धी विश्वव्यापी अभियान तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ‘ह्याकाथन नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ ।

अन्तर्राष्ट्रिय संस्था ICANN, UNESCO, APNIC र सनवे कलेज काठमाडौंको सहकार्यमा आयोजना हुन लागेको यो कार्यक्रमले नेपाली भाषा र लिपिमा आधारित इन्टरनेट प्रणालीको विकासलाई प्राथमिकता दिएको छ । यस ह्याकाथनको मुख्य उद्देश्य सबैका लागि समावेशी र बहुभाषिक इन्टरनेट सुनिश्चित गर्नु हो ।

के तपाई नेपाली लिपिमा आधारित डोमेन नेम प्रयोग गर्न इच्छुक हुनुहुन्छ ? हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा, नेपाली लगायत अन्य स्थानीय भाषाहरूमा पनि सजिलै इमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने वातावरण बनाउन यो अभियान सुरु गरिएको हो ।

ह्याकाथनका मुख्य विवरणहरू:
आवेदन दिने अन्तिम मिति: २०८३ वैशाख १७ (३० अप्रिल २०२६)
कार्यक्रम हुने मिति: २०८३ जेठ २ (१६ मे २०२६)
प्रविधि: हाइब्रिड (भौतिक र अनलाइन दुवै माध्यमबाट)
सहभागीहरू: विकासकर्ता, विद्यार्थीहरू र प्रविधि प्रेमीहरू

यस ह्याकाथन मार्फत सहभागीहरूले बहुभाषिक र 'UA-ready' डिजिटल समाधानहरू निर्माण गर्ने अवसर पाउनेछन् । सहभागी हुन इच्छुक व्यक्तिहरूले क्यान महासंघको आधिकारिक नेपाली पोर्टल https://क्यान.संगठन/दर्ता/ मा गई आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

इन्टरनेटलाई सबैको पहुँचमा पुऱ्याउन र प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गर्न यो एउटा उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिइएको छ । कार्यक्रम सम्बन्धी थप जानकारीका लागि https://क्यान.संगठन/ मा हेर्न सकिनेछ ।