कीवर्डहरू -

आईएफएन इन्क्युबेसन कार्यक्रममार्फत काठमाडौंमा १५ स्टार्टअपलाई मेन्टरशिप र लगानी तयारीमा जोड

आईएफएन इन्क्युबेसन कार्यक्रममार्फत काठमाडौंमा १५ स्टार्टअपलाई मेन्टरशिप र लगानी तयारीमा जोड

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र” सम्पन्न गरेको छ । इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा दर्ता भएका १५ टिममध्ये १२ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवात दर्ता प्रक्रियापछि दिउँसो १:३० बजे भएको थियो । सत्रमा सहभागी उद्यमीहरूले आफ्ना व्यवसायिक अपेक्षा प्रस्तुत गर्दै सशक्त मेन्टरशिप, लगानी सहयोग र नीतिगत तहसम्म आफ्ना मुद्दा पुर्‍याउन सक्ने वातावरणको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा आइएफएनकी सञ्चार अधिकारी कृष्पना पौडेलले आईएफएनसम्बन्धी स्लाइड प्रस्तुत गर्दै स्वागत मन्तव्य राखेकी थिइन् । त्यसपछि कार्यक्रम संयोजक रचना खरेलले व्यवसाय इन्क्युबेसन सेवासम्बन्धी उद्देश्य र विवरण प्रस्तुत गरिन् ।

null

उक्त सत्रमा सहभागी स्टार्टअपहरूमा एग्रीपोर्टल, बिल्डाकार इन्नोभेसन्स, केयरगिभर म्यानेजमेन्ट सिस्टम,  म्याच २४ ओर्बिटल्स, एमएस डिजिटल अटो सोलुसन प्रा. लि., नेपट्र्याक, नेक्स्ट कोर सिस्टम, रिटेल साथी, सम्पर्क डिजिटल लोयल्टी, सतकर्म टेक सोलुसन्स प्रा. लि, द भिजनारिज नेपाल र भेन्डिङ किङ प्रा. लि. रहेका छन् । ट्याकूम डिजिटल काउन्सेलिङ मार्केटप्लेस, क्लाउड साथी र हेल्थ एड एआई नेपाल भने सत्रमा अनुपस्थित रहेका थिए ।

सत्रमा सहभागी सबै टोलीले आफूलाई परिचय गराउँदै आफ्ना कम्पनी तथा स्टार्टअप आइडियाबारे २ देखि ३ मिनेटसम्म प्रस्तुति दिएका थिए । त्यसपछि भएको अन्तरक्रियात्मक सत्रमा भुषण गिरीले आफ्नो उद्यमशील यात्राबारे अनुभव साझा गर्दै कानुनी र वित्तीय पक्षलाई सुरुदेखि नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले परिपूर्ण उत्पादनको प्रतीक्षामा समय खेर नफाल्न सुझाउँदै प्रोटोटाइप चरणमै पनि कार्य अघि बढाउनु पर्ने धारणा राखे ।

साथै, सह-संस्थापकबीच लक्ष्य, जिम्मेवारी र निर्भरता प्रस्ट हुनुपर्ने भन्दै ओकेआर अवधारणाबारे पनि सुझाव दिए । सत्रमा उनले इलेभेटर पिचको महत्त्वबारे समेत प्रकाश पारेका थिए ।

त्यसैगरी, रेशम भण्डारीले विचारभन्दा समाधानलाई प्राथमिकता दिनुपर्ने भन्दै “आफ्नो आइडियालाई होइन, समाधानलाई प्रेम गर्नुपर्छ” भन्ने सन्देश दिएका थिए । उनले व्यवसायिक विचारलाई स्पष्टता र व्यवहारिकतासँग जोडेर अघि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा इडीआईका तर्फबाट इन्जिनियर उमेश गुप्ताले ७५ आवेदनमध्ये ४२ संस्था छनोट भएको र तीमध्ये आईएफएन पनि एक रहेको जानकारी दिँदै नेपाललाई आईटी इन्जिनियरहरूको देशका रूपमा पुनर्परिभाषित गर्ने उद्देश्यसहित यो पहल अघि बढाइएको बताए । उनले आवेदन मूल्यांकन र दर्ता प्रक्रियासम्बन्धी मापदण्डबारे पनि जानकारी दिए ।

null

टेकस्पायर कलेजका लक्ष्मण पोखरेलले कलेजले यसअघि पनि इन्क्युबेसन कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै आएको उल्लेख गर्दै छनोट भएका सबै टोलीलाई शुभकामना दिए । सत्रमा प्रश्नोत्तर तथा खुला छलफल पनि गरिएको थियो । कार्यक्रम अपराह्न ४ बजे सम्पन्न भएको थियो ।

आईसीटी फाउन्डेसन नेपालले यस किसिमका ओरिएन्टेसन तथा इन्क्युबेसन कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपलाई मेन्टरशिप, लगानी तयारी, व्यवसायिक विकास र नेटवर्किङका अवसर उपलब्ध गराउँदै आएको छ । संस्थाका अनुसार यस्तो पहलले बागमती प्रदेशमा पनि नवप्रवर्तन र उद्यमशीलताको वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।