काठमाडौं । नेपालका साना तथा मझौला व्यवसाय (SME) हरूको दैनिकी अझै पनि हाते डायरी, एक्सेल सिट र आधारभूत बिलिङ सफ्टवेयरकै भरमा चलिरहेको छ । चाहे कुनै किराना पसल होस्, कपडाको बुटिक होस् वा हार्डवेयर स्टोर ।
स्टक कति छ ? नाफा/नोक्सान के भयो, भोलिको लागि कति सामान मगाउने जस्ता प्रश्नहरूमा धेरै व्यवसायी अँध्यारोमै छन् । यही अँध्यारोलाई चिर्दै अगाडि आएको छ, ट्याङ्गो ईआरपी । यो एक स्वदेशी क्लाउड–आधारित व्यवसाय व्यवस्थापन प्रणाली हो, जसले मौज्दात, बिक्री, खरिद, लेखा र बिलिङ सबैलाई एउटै मञ्चमा समेट्छ । यसको सुरुवात कसरी भयो, यसले साना व्यवसायीको जीवनमा के फरक पारिरहेको छ, र यसको भविष्य के हो ? यिनै प्रश्नहरूको जवाफ खोज्न हामीले ट्याङ्गो ईआरपीका संस्थापक देव थिङसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, त्यसै कुराकानीमा आधारित एक व्यवसायिक प्रोफाइल ।
डिजिटल समाधानको बीउ रोप्ने त्यो ‘टर्निङ प्वाइन्ट’
धेरै स्टार्टअप जस्तै, ट्याङ्गो ईआरपीको जन्म पनि स्वयं संस्थापकले भोगेको पीडाबाट भयो । देव थिंग स्वयं कृषि (हर्ब फार्म) र वस्तु भण्डार व्यवस्थापनसँग सम्बन्धित व्यवसायमा संलग्न थिए । दैनिक रूपमा स्टक मिसम्याच, हातले हिसाब गर्दा हुने ढिलाइ, र रिपोर्टिङमा हुने त्रुटिले उनलाई सधैँ हैरान बनाइरहन्थ्यो । उनी भन्छन्, “म आफैँ कृषि र इन्भेन्टरी म्यानेजमेन्टसम्बन्धी काममा थिए । दैनिक स्टक मिसम्याच, म्यानुअल क्याल्कुलेसन र रिपोर्ट ढिला हुने जस्ता समस्या भोग्नुपर्यो । त्यहीँबाट मनमा प्रश्न आयो- ‘किन साना व्यवसायका लागि पनि सजिलो र अफोर्डेबल ईआरपी हुँदैन ?’ अनि त्यही प्रश्न नै ट्याङ्गो ईआरपीको टर्निङ प्वाइन्ट बन्यो ।”
(संस्थापक : देव थिंग)
यो प्रश्नले उनलाई सफ्टवेयर विकासतर्फ धकेल्यो । देवको पृष्ठभूमि नै दोहोरो थियो- एकातिर सफ्टवेयर डेभलपमेन्टको प्राविधिक ज्ञान, अर्कोतिर वास्तविक व्यवसाय सञ्चालनको भुइँमान्छे अनुभव । यही संगमले उनलाई ‘प्र्याक्टिकल प्रोब्लम सल्भिङ’मा केन्द्रित हुन सहज बनायो । सुरुमा उनी एक्लैले विकासको काम थाले, आवश्यकता अनुसार सहयोगी र सहकार्यहरू थपिँदै गए ।
नामको पछाडि पनि उत्तिकै रोचक कथा छ । ‘ट्याङ्गो’ नृत्य जसरी दुई व्यक्तिको समन्वयमा चल्छ, त्यसैगरी व्यवसायका सबै पाटा, बिक्री, मौज्दात, लेखा एकापसमा ‘सिङ्क्रोनाइज्ड’ भएर चल्नुपर्छ भन्ने अवधारणाबाट यो नाम आएको हो । देव भन्छन्, “ट्याङ्गो नाम सरल, गतिशील र समन्वय जनाउने भएकाले रोजियो । जसरी ट्याङ्गो नाचमा दुई पक्ष मिलेर अगाडि बढ्छन्, हाम्रो प्रणालीमा पनि व्यवसायका हरेक अङ्ग एकसाथ चल्छन् ।”
एसएमईहरूको दैनिक पीडा र डिजिटल अपनाउन हिचकिचाहट
नेपालमा साना व्यवसायहरूले दैनिक रूपमा भोग्ने तीन ठूला अपरेशनल पीडाको सूची देव स्पष्टसँग सुनाउँछन् । पहिलो ‘रियल–टाइम स्टक’ कति छ भन्ने थाहा नहुनु । दोस्रो हिसाब–किताबमा त्रुटि र अन्योल । तेस्रो निर्णय लिने आधारको रूपमा तथ्याङ्क (डेटा) नै नहुनु । उनी भन्छन्- “धेरै एसएमई अझै पनि कागजी डायरी, एक्सेल वा आधारभूत बिलिङ सफ्टवेयरमा चलिरहेका छन् । मुख्य तीन समस्या के छन् भने, रियल–टाइम स्टक थाहा नहुनु, हिसाबमा गल्ती र दोधार, र निर्णय लिन डेटा नहुनु ।”
यति हुँदा हुँदै पनि उनीहरूले ईआरपी किन अपनाइरहेका छैनन् त ? देवका अनुसार यसको मुख्य कारण मानसिकता हो । “प्रायलाई यो महँगो हुन्छ भन्ने लाग्छ, चलाउन गाह्रो हुन्छ भन्ने डर छ, र ‘हामीलाई चाहिँदैन’ भन्ने माइन्डसेट हाबी छ । तर आजको समयमा ईआरपी ‘लक्जरी’ होइन, ‘नेसेसिटी’ बनिसकेको छ । किनभने प्रतिस्पर्धा र स्केल दुवै बढिरहेको छ ।” छिमेकको किराना पसल, कपडा बुटिक वा हार्डवेयर पसलका लागि ट्याङ्गो ईआरपी राम्रो हुनु मात्र नभई अनिवार्य बन्नुको कारण पनि यही हो ।
‘पहिले यो किन गरिन ?’ भन्ने पहिलो अनुभूति
कुनै नयाँ प्रविधि अपनाउँदाको ‘पहिलो खुसी’ सधैँ अविस्मरणीय हुन्छ । ट्याङ्गो ईआरपी प्रयोगकर्ताको पहिलो प्रतिक्रिया सोध्दा देव भावुक हुँदै सुनाउँछन्, “धेरै युजरले सुरु गरेपछि पहिलो रियाक्सन यही हुन्छ- ‘यो त पहिल्यै किन सुरु गरिन ?’ किनभने उनीहरूले देख्छन्, सबै डेटा अटोमेटिकली सेभ हुन्छ, स्टक तुरुन्त देखिन्छ, नाफा/नोक्सान क्रिस्टल क्लियर हुन्छ ।”
यी सबै सुविधाका बाबजुद निर्माणको क्रममा सबैभन्दा जटिल भनेको ‘रियल–टाइम डेटा सिङ्क’ र ‘एनालाइसिस मोड्युल’ नै बन्न पुग्यो । यो प्राविधिक जटिलतालाई व्यवसायीले सजिलै बुझ्ने भाषामा ढाल्न धेरै मिहिनेत लागेको उनी बताउँछन् । “हामीले विश्लेषणलाई चार्ट, समरी र सजिलो रिपोर्टको रूपमा प्रस्तुत गरेका छौँ, ताकि प्राविधिक ज्ञान नभएको मान्छेले पनि सहजै बुझ्न सकोस् ।”
मोबाइल र डेस्कटप अनुभवको प्रश्नमा उनी स्पष्ट छन्- मोबाइलबाटै सम्पूर्ण व्यवसाय चलाउन सकिन्छ । “मोबाइलबाट पनि पूर्ण ईआरपी चलाउन सक्नुहुन्छ । फिल्डमा हुँदा पनि तपाईंको व्यवसाय तपाईंको हातमै छ ।” क्लाउड सिस्टम भएकाले डेटा सुरक्षित सर्भरमा हुन्छ, ब्याकअप स्वतः हुन्छ । इन्टरनेट नभएको बेला सामयिक सीमितता हुने भएपनि समग्र सुरक्षा र पहुँच पुराना प्रणालीभन्दा धेरै भरपर्दो रहेको उनी जोड दिन्छन् ।

नयाँ व्यवसायको पहिलो हप्ता र स्थानीय आवश्यकता
ट्याङ्गो ईआरपीमा जोडिने नयाँ व्यवसायको पहिलो हप्ता सामान्यतया एक सहज ‘अनबोर्डिङ’ प्रक्रियाको रूपमा देखिन्छ- खाता सेटअप, सामानको सूची प्रविष्टि र आधारभूत तालिम । टोलीले प्रत्यक्ष सहयोग पनि उपलब्ध गराउँछ । “हामी व्हाट्सएप र फोन कलमार्फत डाइरेक्ट सपोर्ट दिन्छौँ,” देव बताउँछन् ।
नेपाली बजारका आफ्नै खास आवश्यकता छन्, बिल र रिपोर्ट दुवै अङ्ग्रेजी र नेपालीमा चाहिने, स्थानीय कर नियम अनुसार हिसाब मिलाउनुपर्ने । ट्याङ्गो ईआरपीले यी सबैलाई सम्बोधन गर्छ । “हामीले नेपाली भाषाको बिल, स्थानीय करको अवधारणा र एसएमई-फ्रेन्ड्ली यूआई दिएका छौँ,” देव भन्छन् । उनी एक ग्राहकको कथा सुनाउँछन्, जो सुरुमा डिजिटल हुन निकै हिचकिचाएका थिए तर आज ट्याङ्गो ईआरपीको सबैभन्दा ठूला समर्थक बनेका छन् । “यस्ता केसहरू नै हाम्रो मोटिभेसन हुन् ।”
प्रविधि, सुरक्षा र विश्वास
प्रणाली कुन प्रविधिको जगमा उभिएको छ भन्नेबारे देव भन्छन्, “ट्याङ्गो ईआरपी आधुनिक टेक स्ट्याकमा निर्मित छ ।” सुरक्षाका लागि उनीहरूले प्रमाणीकरणसहितको पहुँच, सुरक्षित क्लाउड भण्डारण र नियन्त्रित प्रयोगकर्ता अनुमति (पर्मिसन) को व्यवस्था गरेका छन् । ब्याकअप र विपद् पुनर्प्राप्तिलाई पनि स्वचालित बनाइएको छ । “हाम्रो क्लाउडमा अटोमेटिक ब्याकअप र डिजास्टर रिकभरी रेडी छ, त्यसैले कुनै पनि डेटा सधैँ सुरक्षित रहन्छ ।”
व्यवसाय मोडल र बजार स्वीकार्यता
ट्याङ्गो ईआरपीले सब्स्क्रिप्सन आधारित मोडल अपनाएको छ, मासिक वा वार्षिक योजना । यसलाई सानो पसलले पनि सहजै धान्न सक्ने गरी डिजाइन गरिएको छ । “हामी मन्थ्ली र इयरली प्लान दिन्छौँ, जुन साना पसलले पनि सजिलै अफोर्ड गर्न सक्छन्,” उनी भन्छन् । हाल ग्रामीण तथा सहरी गरी विभिन्न खुद्रा क्षेत्र किराना, नर्सरी, बुटिकबाट अपनाउने क्रम बढिरहेको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धीभन्दा फरक
जोहो, ओडू, ट्याली जस्ता अन्तर्राष्ट्रिय ईआरपीले पनि एसएमईलाई लक्षित गर्छन्, तर देवका अनुसार तिनको सबैभन्दा ठूलो कमजोरी जटिलता र स्थानीय सपोर्टको अभाव हो । “जोहो, ओडू पावरफुल भएपनि कम्प्लेक्स छन्, एसएमई-फ्रेन्डली छैनन् । ट्याङ्गोको बल नै सिम्प्लिसिटी, अफोर्डेबिलिटी र लोकल सपोर्ट हो ।” बजारमा अन्य स्थानीय बिलिङ तथा मौज्दात एपहरू भएपनि एउटै छातामुनि पूर्ण एकीकृत समाधान दिने र गहिरो विश्लेषणलाई सरल बनाउने काम ट्याङ्गोले मात्र गर्ने उनको दाबी छ ।
चुनौती र सिकाइ: ‘सिम्पल इज बेटर’
हरेक स्टार्टअपको यात्रामा उतारचढाव आउँछन् । ट्याङ्गोलाई पनि सबैभन्दा ठूलो चुनौती प्रयोगकर्ताको मानसिकता बदल्नु नै रह्यो । “धेरैलाई डिजिटल भन्नेबित्तिकै झन्झट लाग्छ । उनीहरूको विश्वास जित्नु नै हाम्रो सबैभन्दा निराशाजनक तर रोमाञ्चक क्षण थियो,” देव सुनाउँछन् । केही यस्ता फिचर पनि बनाइए, जसलाई प्रयोगकर्ताले मन पराउने निश्चित जस्तो लागेको थियो, तर वास्तविक प्रयोग शून्यप्रायः भयो । त्यसैबाट महत्त्वपूर्ण पाठ सिकेको उनी बताउँछन्; “‘सिम्पल इज बेटर’ भन्ने हामीले व्यवहारबाट सिक्यौँ । अनावश्यक फिचर बनाएर जटिल बनाउनुभन्दा साँच्चै चाहिनेलाई सहज राख्नुपर्छ ।”
ठोस प्रभाव: समय बचत, घाटा न्यूनीकरण र तनावमुक्त जीवन
केवल सुविधाको कुरा मात्र होइन, ट्याङ्गो ईआरपीले व्यवसायीको जीवनमा मापनयोग्य परिवर्तन ल्याइदिएको छ । प्रयोगकर्ताहरूले स्टक खेर जाने दर घटाएका छन्, महिनामा दर्जनौँ घण्टा बचत गरेका छन्, र निर्णय लिने गति बढाएका छन् । देव भन्छन्, “व्यवसाय मात्र होइन, व्यक्तिगत जीवन पनि राम्रो भएको फिडब्याक आएको छ, तनाव कम भयो, नियन्त्रण स्पष्ट भयो ।” यदि कोही ट्याङ्गो प्रयोगकर्ताको पसलमै पुगेर ‘ट्याङ्गो अघि र पछि’को कथा सोध्यो भने सायद उनीहरूको जवाफ हुनेछ- “पहिले सबै अनुमानको भर थियो, अहिले सबै देखिन्छ । ढुक्कले व्यापार बढाउने सोच्न पाएको छु ।”
भविष्यको रोडम्याप : एआईसहितको विस्तार
आगामी तीन वर्षमा ट्याङ्गो ईआरपीलाई नेपालभर स्केल गर्ने र विस्तारै सीमापार बजारमा पनि पुर्याउने सपना देखिरहेका छन् देव । छिट्टै एआई-सञ्चालित सुविधाहरू; जस्तै स्मार्ट विश्लेषण र माग पूर्वानुमान (डिमान्ड प्रिडिक्सन) थपिने क्रममा छन् । “हामी एआई फिचर्स ल्याउँदै छौँ, जसले स्मार्ट एनालिसिस र डिमान्ड प्रिडिक्सन गर्न सक्छ ।” सफलताको आफ्नो परिभाषा भने उनी एकदम सरल राख्छन्, “मेरा लागि सक्सेस भनेको धेरैभन्दा धेरै व्यवसायलाई डिजिटल बनाउनु हो । कुनै निश्चित अंकको मुनाफा होइन ।” अनि यदि उनले नेपालका सम्पूर्ण एसएमई समुदायलाई एउटै प्रश्न सोध्न पाए भने त्यो प्रश्न के हुन्थ्यो ? देव थिङको यो मुहावरा सायद त्यो प्रश्नको सार हो- “डिजिटल नबन्नु अहिले रिस्क हो ।”
ट्याङ्गो ईआरपी प्रयास गर्न चाहने कुनै पनि साना व्यवसायीले डेमो र निःशुल्क परीक्षणमार्फत सजिलै सुरुवात गर्न सक्छन् । देव भन्छन्, “ट्याङ्गो ट्राइ गर्न चाहनुहुन्छ भने हामीसँग डेमो उपलब्ध छ, फ्री ट्रायल पनि दिन सक्छौँ ।” साथै, यदि कुनै व्यवसायलाई आफ्नो कार्यप्रवाह अनुसार पूर्ण रूपमा अनुकूलित ईआरपी चाहिएको छ भनेपनि ट्याङ्गो टोलीले ‘बिजनेस-स्पेसिफिक सलुसन’ विकास गरिदिने उनले प्रस्ट पारे । “प्रत्येक व्यवसायको काम गर्ने तरिका फरक हुन्छ । त्यसैले हामी रेडी-मेड सिस्टम मात्र होइन, कस्टमाइज्ड ईआरपी पनि प्रदान गर्छौँ ।”
कागज र अनुमानको युगबाट डिजिटल निश्चितता र डेटा-संचालित निर्णयको युगमा जाने हो भने, ट्याङ्गो ईआरपी एउटा भरपर्दो नाच साथी बन्न तयार छ, जहाँ व्यवसायी र प्रविधि एउटै तालमा कदम चाल्छन् । यहाँ क्लिक गरी तपाईले तीन महिनासम्मको निःशुल्क ट्रायल फिचर पाउन सक्नुहनेछ ।
स्नेहा झा