काठमाडौं । आजको डिजिटल युगमा हाम्रा हरेक जानकारी ट्र्याक हुन्छन् । इन्टरनेटमा हामी के सर्च गर्दैछौं, त्यो जानकारी गूगल, फेसबुक र युट्युब जस्ता कम्पनीहरूले निरन्तर सङ्कलन गरिरहेका हुन्छन् । यो त्यतिमै सीमित छैन, हामी कहाँ जाँदैछौं, के खान्छौं र कुन कुराहरूका बारेमा कुरा गर्दैछौं भन्ने पनि निरन्तर रेकर्ड भइरहन्छन् ।
यी जानकारीहरूले तपाईंलाई लक्षित विज्ञापन देखाउन मद्दत गर्छ । इन्टरनेटको दुनियाँमा 'उत्पादन' इन्टरनेट होइन, तपाईं स्वयं हो । किनकी कम्पनीहरूले तपाईंको डेटा बिक्री गर्ने वा अन्य काममा प्रयोग गर्न सक्छन् । तर यदि तपाईं चाहनुहुन्छ कि तपाईंको सम्पूर्ण डेटा इन्टरनेटबाट मेटियोस्- के त्यस्तो सम्भव छ ?
पूर्ण रूपमा सबै साइटबाट वा तपाईंले भ्रमण गरेका सबै ठाउँबाट सबै जानकारी मेटाउन सधैं सम्भव नहुन सक्छ, तर गूगलजस्ता सेवाहरूले तपाईंलाई आफ्नो अनलाइन डेटा मेटाउने विकल्प दिन्छन् । तल केही सरल तरिकाले वर्षौँदेखि स्टोर भइरहेको डेटा कसरी मेट्ने भन्ने बताइएको छ ।
डिजिटल फुटप्रिन्ट मेटाउने पाँच चरण
१. गूगल गतिविधिबाट सुरुवात गर्नुहोस्
गुगल खाताको गतिविधि पृष्ठमा जानुहोस् । यहाँ तपाईंको सर्च इतिहास, नक्साको मार्ग र युट्युब भिडियोहरूको सूची देखिन्छ । गतिविधि मेटाउने विकल्पमार्फत् सर्वकालीन गतिविधि मेट्न सकिन्छ ।
२. नयाँ डेटा सङ्कलन रोक्नुहोस्
गतिविधि नियन्त्रणमा गई वेब तथा एपको गतिविधि, स्थान इतिहास र युट्युब इतिहासजस्ता सेटिङ बन्द गर्नुहोस् । यसले भविष्यमा तपाईंको स्थान र सर्च जानकारी सेव हुनबाट रोक्छ ।
३. ट्र्याकिङ पूर्णतः बन्द गर्नुहोस्
गुगल खाताको डेटा र गोपनीयता सेक्शनमा गई ट्र्याकिङसम्बन्धी सबै सेटिङ बन्द गर्नुहोस् । यसले विभिन्न उपकरणमा तपाईंको अनलाइन गतिविधि ट्र्याक हुनबाट रोक्छ ।
४. स्वचालित मेटाउने सेट गर्नुहोस्
बारम्बार म्यानुअल मेटाउन नपर्न स्वचालित मेटाउने विकल्प छनोट गर्नुहोस् । यहाँ डेटा तीन, अठार वा छत्तीस महिनापछि स्वचालित रूपमा मेटिनेगरी सेट गर्न सकिन्छ ।
५. कनेक्शन सुरक्षित बनाउनुहोस्
आफ्नो अनलाइन गतिविधि ट्र्याक हुन नदिन भर्चुअल निजी नेटवर्क प्रयोग गर्नुहोस् । साथै प्राइभेसी केन्द्रित ब्राउजरहरू जस्तै ब्रेव, टोर वा डकडकगो अपनाउनुहोस् र केही महिनामा एकपटक पासवर्ड परिवर्तन गर्नुहोस् ।
आईसीटी समाचार