कीवर्डहरू -

इन्स्टाग्राममा स्पाम र बोट फोलोअर्स हटाउने नयाँ फिचर, यस्तो छ प्रयोग गर्ने तरिका

इन्स्टाग्राममा स्पाम र बोट फोलोअर्स हटाउने नयाँ फिचर, यस्तो छ प्रयोग गर्ने तरिका

काठमाडौं । इन्स्टाग्राममा यतिबेला स्पाम र बोट फोलोअर्स तीव्र रूपमा बढिरहेका छन् । धेरै प्रयोगकर्ताहरू आफ्ना अकाउन्टमा अपरिचित र शंकास्पद यूजरहरू जोडिन थालेपछि हैरान भएका छन् । वास्तवमा, यस्ता स्पाम र बोट यूजरहरूका कारण प्रयोगकर्ताको अकाउन्टको सुरक्षा मात्र होइन, प्राइभेसी पनि जोखिममा पर्न सक्छ । प्रयोगकर्ताहरूको यही समस्यालाई ध्यानमा राख्दै इन्स्टाग्रामले आफ्नो प्लेटफर्ममा यस्ता फिचरहरू थपेको छ, जसको मद्दतले प्रयोगकर्ताले सजिलै स्पाम अकाउन्ट वा बोट फोलोअर्स हटाउन सक्छन् ।

स्पाम अकाउन्ट कसरी चिन्ने ?

इन्स्टाग्रामले सम्भावित स्पाम अकाउन्ट पहिचान गर्न छुट्टै पोटेन्शियल स्पाम सूची देखाउन सुरु गरेको छ । यसले प्रयोगकर्तालाई हरेक फोलोअरलाई छुट्टाछुट्टै जाँच्नुपर्ने आवश्यकता हटाइदिन्छ । प्रयोगकर्ताले सिधै यो सेक्सनमा गएर शंकास्पद अकाउन्टहरू रिभ्यु गर्न सक्छन् ।

स्पाम फोलोअर्स कसरी हटाउने ?

सबैभन्दा पहिले आफ्नो प्रोफाइल खोल्नुपर्छ । त्यसपछि फोलोअर्सको सूची हेर्नुपर्छ । यहाँ तपाईंलाई पोटेन्शियल स्पाम सेक्सनमा गएर स्पाम फोलोअर्सको सूची देख्न मिल्नेछ । यो सूचीमा इन्स्टाग्रामले शंकास्पद मानेका अकाउन्टहरू देखिन्छन् । यदि कुनै अकाउन्ट गल्तीले यहाँ आएको छ भने, त्यसलाई कन्फर्म गर्न सकिन्छ, र स्पाम भएको अकाउन्टलाई डिलिट गरेर हटाउन सकिन्छ ।

चाहनुहुन्छ भने एकैचोटि धेरै स्पाम अकाउन्टहरू पनि हटाउन सकिन्छ । यसका लागि रिमुभ अल स्पाम फोलोअर्स भन्ने विकल्प पाइन्छ । यो बटनमा क्लिक गरेर तपाईं सबै स्पाम अकाउन्टहरू एकैपटक हटाउन सक्नुहुन्छ । स्पाम अकाउन्ट भएको सेक्सनबाट प्रयोगकर्ताहरू हटाउँदा, हटाइएका प्रयोगकर्ताहरूलाई यसको कुनै नोटिफिकेसन जाँदैन ।

स्पाम फिल्टरलाई अन/अफ कसरी गर्ने ?

इन्स्टाग्राममा प्रयोगकर्तालाई स्पाम फिल्टर अन वा अफ गर्ने विकल्प पनि हुन्छ । यो फिचर पहुँच गर्न प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा गएर सेटिङ्स र प्राइभेसी सेटिङ्समा जानुपर्छ । त्यसपछि फोलोअर्स मा गएर फिल्टर स्पाम फोलोअर्स टगल इनेबल गर्नुपर्छ ।