काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौं महानगरपालिका २ खुर्सानीटारबाट नियन्त्रणमा लिएको हो ।
सिआइबीका अनुसार जोशीमाथि स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्तिमा अनियमितता गरी सरकारको हकहितमा क्षति पुर्याएको आरोप छ । हाल स्मार्ट टेलिकम सञ्चालनमा छैन । कम्पनीले समयमै नवीकरण नगरेपछि २०८० वैशाख ३ गते यसको अनुमति पत्र स्वत: खारेज भएको थियो ।
कम्पनी खारेज भएसँगै कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको छ । यद्यपि, उक्त सम्पत्ति बेइमानीपूर्वक हिनामिना गरी सरकारको हक टुटाउने कार्य भएको आरोपमा जोशीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आईसीटी समाचार