काठमाडौं । आजकल सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको प्रयोग निकै बढेको छ । धेरैजसो मानिसहरू त दैनिक वा हप्तामा दुई तीन पटक यो प्लेटफर्ममा केही न केही अवश्य पोस्ट गर्छन् । तर, धेरै समय र मेहनत लगाउँदा पनि कहिले काहीँ पोस्टको रिच अचानक कम हुन थाल्छ ।
यस्तो अवस्थामा आत्तिनु पर्दैन, यो समस्या तपाईंलाई मात्र भइरहेको होइन । एल्गोरिदममा परिवर्तन, सामाग्रीको गुणस्तर, दर्शकको सहभागिता र पोस्ट गर्ने ढाँचाजस्ता धेरै कारणले यस्तो हुन सक्छ । आउनुहोस्, इन्स्टाग्राम खाताको रिच घटेमा के गर्ने र के नगर्ने भन्ने जानौँ । तर त्यसअघि, रिच किन घट्छ भन्ने बुझौँ...
खाताको रिच किन घट्छ ?
इन्स्टाग्रामको एल्गोरिदमले ती पोस्टहरूलाई बढी देखाउँछ, जसमा मानिसहरूले छिटो र धेरै अन्तरक्रिया गर्छन् । त्यसैले यदि तपाईंको सामाग्रीमा लाइक, कमेन्ट, सेयर वा सेभ कम हुन थाल्यो भने रिच घट्नु लगभग निश्चित हुन्छ । त्यतिमात्र होइन, यदि तपाईंले सही समयमा पोस्ट नगर्ने, बारम्बार उस्तै किसिमको सामाग्री राख्ने र गलत ह्यासट्याग प्रयोग गर्ने गर्नुभयो भने पनि खातालाई नोक्सान पुग्न सक्छ ।
इन्स्टाग्राम खाताको रिच बढाउन के गर्ने ?
सामाग्रीको गुणस्तर : यस्तो सामाग्री तयार गर्नुहोस्, जसले मानिसलाई बढी समयसम्म रोकिराखोस् । रील्स, पोस्ट र स्टोरीहरूको सन्तुलन बनाउनुहोस् ।
सही समय : तपाईंको दर्शक सबैभन्दा बढी सक्रिय हुने समयमा पोस्ट गर्नुहोस् । यसले सुरुवाती सहभागिता राम्रो बनाउन मद्दत गर्छ ।
दर्शकसँग संवाद : सकेसम्म पोस्टपछि कमेन्टहरूको जवाफ दिनुहोस्, स्टोरीमा पोल र क्यु एण्ड ए राख्नुहोस् । यसले सहभागिता बढाउँछ र एल्गोरिदमले तपाईंलाई बढी देखाउँछ ।
ट्रेन्डिङ अडियो र ह्यासट्याग : आफ्नो भिडियो र पोस्टमा ट्रेन्डिङ सङ्गीत र सम्बन्धित ह्यासट्याग प्रयोग गर्नुहोस् । यसले तपाईंको पोस्टलाई नयाँ मानिससम्म पुर्याउन मद्दत गर्छ ।
इन्स्टाग्राम खाताको रिच घट्दा के नगर्ने ?
फेक फलोअर्स वा बोट्स: रिच घट्यो भन्दै फेक फलोअर्स वा बोट्स नकिन्नुहोस् । यस्तो गर्दा खाताको विश्वसनीयता घट्छ र रिच झन् कम हुन सक्छ ।
स्प्यामिङ : एउटै दिनमा अत्यधिक रील वा फोटो पोस्ट नगर्नुहोस् । साथै, बारम्बार उस्तै सामाग्री हाल्नु पनि हानिकारक हुन सक्छ ।
गलत ह्यासट्याग : असम्बन्धित वा प्रतिबन्धित ह्यासट्याग प्रयोग गर्नुभयो भने पोस्टको दृश्यता घट्न सक्छ ।
लामो समयसम्म निष्क्रिय नबस्नुहोस् : धेरै दिनसम्म पोस्ट नगर्दा एल्गोरिदमले तपाईंको प्रोफाइललाई कम प्राथमिकता दिन सक्छ ।
आईसीटी समाचार