कीवर्डहरू -

बैंक खाताबाट रकम गायब हुने घटना बढ्दै, कसरी सुरक्षित रहने ?

बैंक खाताबाट रकम गायब हुने घटना बढ्दै, कसरी सुरक्षित रहने ?

काठमाडौं । पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा उल्लेख्य वृद्धि भएपछि नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जारी गरेको विज्ञप्तिअनुसार अज्ञात तथा संगठित आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै ठगीका नयाँ तरिका अपनाइरहेका छन् ।

विशेष गरी ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न नम्बरबाट सन्देश पठाउने प्रवृत्ति बढेको उल्लेख गरिएको छ । यस्ता सन्देशमा “तपाईंको खाता लक गरिएको छ” भन्ने बहाना बनाइ पुन: पहुँच प्राप्त गर्न ‘एक्सेस’ गर्न आग्रह गरिन्छ र त्यसका लागि शङ्कास्पद लिङ्क पठाइन्छ ।

प्रयोगकर्ताले ती लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत विवरण सङ्कलन गरी बैंक खातामा अनधिकृत पहुँच पु¥याइ ठूलो रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोले यस्ता जोखिमबाट जोगिन शङ्कास्पद लिङ्कमा क्लिक नगर्न, बैंकिङ कारोबारका लागि सधैँ आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्न, गोप्य विवरण कसैसँग साझा नगर्न र कुनै पनि संदिग्ध गतिविधि देखिएमा तुरुन्त प्रहरी वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

यसैबीच, साइबर ब्यूरोको नाम दुरुपयोग गरी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका ३ का ३० वर्षीय दीपक लिम्बू, सुनसरीको धरान उपमहानगरपालिका ९ का २१ वर्षीय सौरव भुजेल, वडा १३ का २८ वर्षीय सजल राई तथा इनरुवा नगरपालिका ६ का २४ वर्षीय सृजन थापा रहेका छन् ।

प्रवक्ता गिरीका अनुसार उनीहरूले ‘साइबर ब्यूरो’को नाम प्रयोग गरी ट्रूकॉलरमा समेत सोही नाम देखिने बनाउँदै पीडितलाई फोन गरेर डर, त्रास र प्रलोभनमा पारेर रकम ठगी गर्दै आएका थिए । प्राविधिक अनुसन्धानबाट उनीहरूको संलग्नता पुष्टि भएपछि साइबर ब्यूरोको टोलीले इलाका प्रहरी कार्यालय धरानसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।

हाल उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

null