काठमाडौं । नेपालमा डेटा तथा कृत्रिम बुद्धिमत्ता (AI) पूर्वाधार विकासको दिशामा महत्वपूर्ण मानिएको नयाँ पहल सार्वजनिक हुने भएको छ । Bichuten Data Vault Pvt. Ltd. ले “Dawn of a New Era: Powering Nepal’s Data & AI Sovereignty” शीर्षकमा विशेष कार्यक्रम आयोजना गर्दै नेपालकै पहिलो purpose-built AI data centre को औपचारिक घोषणा गर्ने भएको हो ।
कार्यक्रम २०२६ मे ७ तारिख बिहीबार साँझ ६ बजेदेखि Hotel Yak & Yeti को Regal Ballroom मा आयोजना हुनेछ । कम्पनीका अनुसार उक्त डेटा सेन्टर नेपालमा डेटा स्टोरेज, सफ्टवेयर विकास तथा एआई प्रविधिका लागि ठूलो प्लेटफर्मका रूपमा विकसित गरिनेछ । यसलाई देशको डिजिटल रूपान्तरण, डेटा सार्वभौमिकता (Data Sovereignty) र एआई क्षमताको विस्तारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
कार्यक्रममा VVDN Technologies र Google Cloud सँगको रणनीतिक साझेदारीमा तयार गरिएको पूर्वाधार प्रस्तुत गरिनेछ । साथै, प्रविधि साझेदारका रूपमा AMDA र Micron समेत संलग्न रहेका छन् । आयोजकका अनुसार यो परियोजनाले नेपालमा अर्को पुस्ताको एआई क्षमता विकास गर्न, डिजिटल रूपान्तरणलाई तीव्र बनाउन तथा विभिन्न उद्योगका लागि स्केलेबल डेटा पूर्वाधार उपलब्ध गराउन सहयोग पुर्याउनेछ ।
साथै, स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य तथा अन्य सेवा क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने अपेक्षा गरिएको छ । कम्पनीले अस्पताल तथा मेडिकल कलेजहरूले एआई–आधारित परीक्षण र शल्यक्रिया प्रविधि प्रयोग गर्न चाहेमा आवश्यक पूर्वाधार उपलब्ध गराउने जनाएको छ । डेटा सेन्टरमार्फत स्वास्थ्य क्षेत्रमा परीक्षण रिपोर्ट छिटो प्राप्त गर्ने तथा अध्ययन–अध्यापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
विश्वसनीय सञ्चालनका लागि डेटा सेन्टरमा दोहोरो विद्युत लाइन जडान गरिने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार डेटा सेन्टरमा वर्षभरिमा २६ मिनेटभन्दा बढी विद्युत अवरोध हुन नहुने व्यवस्था मानिन्छ । त्यसलाई ध्यानमा राख्दै अनवरत विद्युत आपूर्तिको पूर्वाधार निर्माण गरिने कम्पनीले जनाएको छ ।
आयोजकले कार्यक्रमलाई “नेपालको डेटा र एआई सार्वभौमिकताको नयाँ युग”को सुरुआतका रूपमा प्रस्तुत गरेका छन् । यो पहललाई नेपालमा डिजिटल पूर्वाधार विस्तार तथा एआई केन्द्रित विकासको महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ ।
कम्पनीले नेपालभित्रै डाटा सुरक्षित राख्ने ‘इन-कन्ट्री डाटा रेसिडेन्सी’ अवधारणालाई प्राथमिकता दिएको छ । यसले विदेशी सर्भरमाथिको निर्भरता घटाउँदै राष्ट्रिय साइबर सुरक्षा तथा डिजिटल आत्मनिर्भरतालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
ऊर्जा दक्ष र नेपालकै जलविद्युतमा आधारित रहने यो डाटा सेन्टरलाई वातावरणमैत्री पूर्वाधारका रूपमा विकास गरिने कम्पनीले जनाएको छ । साथै, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।
आईसीटी समाचार