कीवर्डहरू -

नेपालमा आईटी पूर्वाधारमा लगानी बढ्दो, साढे २ अर्बको हाइपरस्केल डेटा सेन्टर घोषणा

नेपालमा आईटी पूर्वाधारमा लगानी बढ्दो, साढे २ अर्बको हाइपरस्केल डेटा सेन्टर घोषणा

काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) पूर्वाधार क्षेत्रमा लगानी भित्रिने क्रम बढ्न थालेको छ । पछिल्लो समय आईटी सेवा तथा प्रविधिजन्य निर्यातमा वृद्धि हुनुका साथै सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न थालेपछि निजी क्षेत्रको आकर्षण पनि बढ्दै गएको हो ।

यसैक्रममा बिहीबार बिचुटेन डाटा भोल्टले काठमाडौं र वीरगन्जमा टियर ४ स्तरको हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले भीभीडीएन र गुगल क्लाउड लगायत प्रविधि कम्पनीहरूसँगको साझेदारीमा २४० किलोवाट क्षमताबाट सुरु गरी सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना सार्वजनिक गरेको हो ।

null

कम्पनीका अनुसार परियोजनामा नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयल संलग्न छन् । उनीहरूले नेपालको डिजिटल सार्वभौमिकता र सुरक्षित डिजिटल भविष्य निर्माण गर्ने उद्देश्यले डेटा सेन्टर सञ्चालन गर्न लागिएको बताएका छन् ।

बिचुटेन डाटा भोल्टका अध्यक्ष नवीन अग्रवालका अनुसार काठमाडौं र वीरगन्जमा निर्माण हुने डेटा सेन्टरका लागि करिब साढे २ अर्ब रुपैयाँ लगानी गरिनेछ । कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै डेटा सेन्टर सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

अग्रवालले नेपाललाई दक्षिण एसियाकै विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने उद्देश्यसहित परियोजना अघि बढाइएको बताए । उनका अनुसार नेपालको किफायती जलविद्युत्, चिसो मौसम र दक्ष आईटी जनशक्तिलाई उपयोग गर्दै डिजिटल पूर्वाधार निर्माण गरिनेछ ।

“यी स्रोतको सही उपयोग गर्न सके स्वदेशी नवीकरणीय ऊर्जाको उपयोग बढ्नुका साथै रोजगारी सिर्जनामा पनि सहयोग पुग्छ,” उनले भने, “यसले रोजगारीका लागि विदेशिने बाध्यता केही हदसम्म कम गर्न सक्छ ।”

कम्पनीले डेटा सेन्टरलाई केवल पूर्वाधारका रूपमा नभई प्राविधिक ज्ञान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको जनाएको छ । साथै, नेपालमा उत्पादन हुने जलविद्युत् कार्बनरहित ऊर्जा भएकाले वातावरणीय दृष्टिले पनि डेटा सेन्टर सञ्चालनका लागि उपयुक्त मानिन्छ ।

काठमाडौंमा निर्माण हुने डेटा सेन्टरले करिब साढे दुई रोपनी क्षेत्रफल ओगट्नेछ भने वीरगन्जको साइट प्लानिङ प्रक्रिया जारी रहेको कम्पनीले जनाएको छ ।