काठमाडौं । स्मार्टफोनको इतिहास सम्झिँदा आज हाम्रो आँखामा सबैभन्दा पहिले चम्किलो सिसाको ठूलो स्क्रिन आउँछ । औंलाको हल्का स्पर्शमै संसार खुल्ने, एकपछि अर्को एप खुल्ने, मेसेज टाइप हुने र भिडियो चल्ने यही दृश्य अहिले सामान्य जस्तै लाग्छ । तर यो सहजता एकैपटक आएको होइन । यसका पछाडि दशकौँको प्रविधिगत यात्रा छ, जसले मोबाइल फोनलाई केवल सञ्चारको साधनबाट दैनिक जीवन चलाउने बहुउपयोगी डिजिटल साथीमा रूपान्तरण गर्यो ।
आजको टचस्क्रिन युगभन्दा पहिले मोबाइल फोनहरू बटन बाट चल्ने खालका थिए। ती दिनमा फोनको प्रयोग भनेको स्क्रिन हेरेर होइन, औंलाले बटन चिन्नु हो । नोकिया, ब्ल्याकबेरी, मोटोरोलाजस्ता फोनहरूमा साना–साना कीप्याड थिए, जहाँ प्रत्येक नम्बर र अक्षर एक–एक बटनसँग बाँधिएको हुन्थ्यो । टाइप गर्ने मानिसले स्क्रिन होइन, औंलाको स्मरणशक्तिमा भरोसा गर्नुपर्थ्यो । खास गरी ब्ल्याकबेरी र नोकिया कम्युनिकेटर जस्ता डिभाइसहरूमा त कीप्याड नै उत्पादकताको प्रतीक मानिन्थ्यो । ती फोनहरूमा औंलालाई सही स्थानमा पुर्याउन ‘एफ’ र ‘जे’ अक्षरमाथि बनाइएका साना उठेका धर्साहरूले मार्ग दर्शन गर्थे । किबोर्ड नहेरी टाइप गर्न चाहनेहरूका लागि ती साना उभारहरू एउटा मौन तर भरपर्दो सहारा थिए ।
त्यो समयको मोबाइल अनुभव आजको जस्तो दृश्यप्रधान थिएन, बरु स्पर्शप्रधान थियो । बटन थिच्दा आउने स्पष्ट प्रतिक्रिया, क्लिकको आवाज; यी सबैले प्रयोगकर्तालाई फोनसँग जोड्थे । यही नै 'ह्याप्टिक फिडब्याक' (Haptic Feedback) को प्रारम्भिक रूप थियो। प्रविधि सीमित भए पनि उपयोगिताको अनुभूति बलियो थियो ।
तर यो संसारमा ठूलो मोड सन् २००७ मा आयो, जब एप्पलले पहिलो आइफोन सार्वजनिक गर्यो । स्टिभ जब्सले त्यो बेला फोनको भविष्यबारे जुन दृष्टि देखाए, त्यसले सम्पूर्ण मोबाइल उद्योगको दिशा बदलिदियो । उनले भौतिक बटनहरू घटाएर ठूलो मल्टि-टच स्क्रिनमा आधारित नयाँ अनुभवको घोषणा गरे। त्यो क्षणपछि फोनको परिभाषा नै फेरियो । अब फोन केवल कल गर्ने वा सन्देश पठाउने उपकरण रहेन; यो इन्टरनेट, मनोरञ्जन, काम, सञ्चार र व्यक्तिगत व्यवस्थापन सबैलाई एकै ठाउँमा ल्याउने डिजिटल प्लेटफर्म बन्यो ।

भौतिक किबोर्ड हटेपछि प्रयोगकर्तालाई नयाँ चुनौती पनि आयो । चिल्लो सिसाको सतहमा कहाँ टाइप गर्ने, कसरी सही अक्षर छुनु, कसरी नहेरिकनै छिटो लेख्ने ? यहींबाट सफ्टवेयर डिजाइनले पनि नयाँ भूमिका पायो । एप्पलले सुरुवाती दिनमा स्किउमर्फिज्म (Skeuomorphism) नामक डिजाइन शैली अपनायो, जसमा डिजिटल वस्तुहरूलाई पुराना भौतिक वस्तुजस्तै देखाउने प्रयास गरिन्थ्यो । नोट एप कागजी नोटप्याडजस्तो देखिन्थ्यो, क्यालेन्डर वास्तविक डायरीजस्तो लाग्थ्यो, र भर्चुअल किबोर्डमा पनि बटनको झल्को दिने बनावट राखिन्थ्यो । प्रयोगकर्तालाई अपरिचित प्रविधिसँग पहिचान गराउन यो उपाय अपनाइएको थियो ।
यही सन्दर्भमा भर्चुअल किबोर्डका ‘एफ’ र ‘जे’ अक्षरमाथि देखिने उठेका धर्साहरू पनि रहिरहे । ती धर्सा वास्तवमा भौतिक सतहमा टचलाई मार्गदर्शन गर्ने वस्तु थिएनन्, किनकि स्क्रिन त समतल हुन्थ्यो । तर तिनले प्रयोगकर्ताको स्मृतिमा बसेको किबोर्ड संस्कृतिलाई डिजिटल संसारमा बोकेर आए । यो एक प्रकारको संकेत थियो, यो किबोर्ड हो, यो टाइप गर्नका लागि हो, तपाईंलाई पुरानो बानीबाट नयाँ प्रविधिमा लैजान हामी सहजता दिन्छौं ।
तर प्रविधिको संसारमा सधैं पुरानो शैलीले स्थान पाइरहँदैन । केही वर्षमै स्किउमर्फिज्म आलोचनाको केन्द्रमा पुग्यो । आलोचकहरूका नजरमा यो शैली अत्यधिक बनावटी, अलमल पार्ने र अनावश्यक थियो । प्रविधि भविष्यतर्फ जानुपर्छ, विगतको नक्कलतर्फ होइन भन्ने मत बलियो बन्दै गयो । यही विचारलाई एप्पलका डिजाइन प्रमुख जोनी आइभले अझ सशक्त बनाए । उनीले आइओएस ७ को आगमनसँगै एप्पलको दृश्य भाषामा ठूलो परिवर्तन ल्याए। भारी बनावट, काठको फिनिस र वास्तविक वस्तुको नक्कल गर्ने शैली बिस्तारै हट्दै गयो । त्यसको सट्टा सरल र सपाट दृश्य भाषा, फ्ल्याट डिजाइन अगाडि आयो ।
फ्ल्याट डिजाइनले स्मार्टफोनलाई अझ आधुनिक र पोर्टेबल बनायो । तर यससँगै एक युगको अन्त्य पनि भयो । स्क्रिनमा रहेको भौतिक जस्तो अनुभूति हराउँदै गयो । प्रयोगकर्ता अब सामाग्रीभन्दा बढी इन्टरफेसको गति, सरलता र स्पष्टतामा निर्भर हुन थाले ।
आजको स्मार्टफोन त्यो परिवर्तनको सबैभन्दा परिष्कृत रूप हो । यसले फोटो खिच्छ, भिडियो सम्पादन गर्छ, बैठक सम्हाल्छ, नक्सा देखाउँछ, पढाइका लागि सहयोग गर्छ, भुक्तानी गर्छ र अनेकौं काम एकै ठाउँमा सम्भव बनाउँछ । अहिलेको फोनमा किबोर्ड छैन, तर टाइपिङको संसार अझै बाँचेको छ । केवल त्यसको रूप फेरिएको छ ।
र अब प्रविधि फेरि अर्को चरणमा प्रवेश गर्दैछ । ह्याप्टिक फिडब्याक, एआई-सहायता प्राप्त इन्टरफेस, फोल्डेबल डिस्प्ले र भौतिक अनुभूति दिने उन्नत स्क्रिन प्रविधिहरूले टचस्क्रिनलाई अझ मानवीय बनाउन खोजिरहेका छन् । भविष्यमा स्क्रिनले केवल देखाउने मात्र होइन, औंलालाई महसुस गराउने पनि हुन सक्छ । सायद एक दिन, भर्चुअल किबोर्डका ती पुराना ‘एफ’ र ‘जे’ धर्साहरू फेरि नयाँ अर्थसहित फर्कन सक्छन्, यो पटक केवल सम्झनाका लागि होइन, वास्तविक स्पर्शका लागि ।

त्यसैले स्मार्टफोनको विकास इतिहास केवल प्रविधिको कथा होइन । यो हाम्रो प्रयोग गर्ने बानी, हाम्रो स्पर्शको स्मृति र डिजिटल संसारसँग हाम्रो सम्बन्ध कसरी बदलियो भन्ने कहानी पनि हो । बटनबाट स्क्रिनसम्मको यात्रा वास्तवमा औंलाको होइन, मानिसको सोचको यात्रा हो ।
स्नेहा झा