काठमाडौं । साउदी अरबको किंग अब्दुल्ला युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले चिस्याउने एउटा यस्तो तरिका पत्ता लगाएका छन्, जो पूर्ण रूपमा बिजुलीमुक्त छ । यस प्रविधिलाई नेस्कोड अर्थात् ‘नो इलेक्ट्रिसिटी एन्ड सस्टेनेबल कूलिङ अन डिमान्ड’ नाम दिइएको छ । जर्नल अफ एनर्जी एन्ड एन्वायर्न्मेन्टल साइन्स मा प्रकाशित यस अनुसन्धानमा प्रोफेसर पेंग वाङ र उनको टोलीले प्राकृतिक विधि र अत्यन्तै साधारण सामग्रीको प्रयोग गरेर यो अद्भुत चिस्याउने तरिका विकास गरेका हुन् ।
बिना बिजुली कसरी काम गर्छ यो एसी ?
बिजुली बिना चल्ने यो एसी अमोनियम नाइट्रेटको सहयोगले कूलिङ गर्छ । यो त्यही रसायन हो, जसको प्रयोग सामान्यतया खेतबारीमा मलका रूपमा गरिन्छ । अमोनियम नाइट्रेटको सबैभन्दा ठूलो विशेषता भनेको जब यसलाई पानीमा घोलिन्छ, तब यसले वरिपरिको तापलाई तीव्र रूपमा सोस्छ । जति-जति यो पानीमा घुल्दै जान्छ, वरिपरिको तापक्रम चाँडै घट्न थाल्छ र तीव्र चिसोपन पैदा हुन्छ ।
वैज्ञानिकहरूले आफ्ना परीक्षणहरूमा पानी र अमोनियम नाइट्रेटको यो मिश्रण अत्यन्तै प्रभावकारी रहेको पाएका छन् । यो मिश्रणले केवल २० मिनेटभित्रै तापक्रमलाई २५ डिग्री सेल्सियसबाट ३.६ डिग्री सेल्सियस सम्म घटाइदिएको थियो । चिस्याउने यसको क्षमता अन्य सामान्य रसायनहरूको तुलनामा धेरै उच्च रहेको पाइएको छ, जसले यसलाई बिजुलीविनाको कूलिङ सिस्टमका लागि उत्कृष्ट विकल्प बनाउँछ ।
नेस्कोडको सबैभन्दा अनौठो विशेषता भनेको यसले बिजुलीबिना नै आफूलाई पुनः प्रयोग योग्य बनाउन सक्छ । एकपटक ताप सोसिसकेपछि, यो प्रणाली सोलार एनर्जीको मद्दतले पानीलाई बाफ बनाइदिन्छ । यसरी अमोनियम नाइट्रेट फेरि आफ्नो ठोस रूपमै फर्किन्छ र यसलाई पुनः प्रयोग गर्न सकिन्छ । खास कुरा के भने, बाफ बनेको पानीलाई पनि फेरि संकलन गरेर पुनः प्रयोग गर्न सकिन्छ, जसले पानीको अभाव भएका क्षेत्रहरूमा यो प्रविधिलाई अझै उपयोगी बनाउँछ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, विश्वभरको कुल बिजुलीको लगभग १० प्रतिशत हिस्सा केवल एसी चलाउनमै खर्च हुन्छ । त्यसमाथि संसारभर करिब ७० करोड मानिस अझै पनि बिजुलीविहीन अवस्थामा छन् । यस्तो अवस्थामा नेस्कोड प्रविधिले ठूलो परिवर्तन ल्याउन सक्छ । हाल यो प्रविधि विकासको चरणमै छ । भविष्यमा यदि नेस्कोड एसी बजारमा ल्याइयो भने, यो परम्परागत एसीको तुलनामा निकै किफायती हुने अपेक्षा गरिएको छ ।
घरलाई चिसो राख्नेमात्र होइन, यो प्रविधिले दुर्गम क्षेत्रहरूमा खानेकुरा, जीवनरक्षक औषधि र खोपहरू सुरक्षित राख्न पनि ठूलो भूमिका खेल्न सक्छ । यस आविष्कारलाई टिकाउ र कार्बन उत्सर्जनरहित भविष्यतर्फको एउटा ठूलो कदम मानिएको छ ।
आईसीटी समाचार