काठमाडौं । प्रविधिको तीव्र विकाससँगै अब नागरिकले घरमै बसेरै जग्गाको नक्सा प्राप्त गर्न सक्ने व्यवस्था लागू भएपछि भोजपुरका सेवाग्राहीलाई ठूलो सहजता भएको छ । नापी विभाग अन्तर्गतका नापी कार्यालयहरूले सेवा प्रवाहलाई थप सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् ।
यो व्यवस्थासँगै सेवाग्राहीलाई अब कार्यालयसम्म पुगेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट आवश्यक विवरण भरेर आफ्नै जग्गाको नक्सा हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीले जानकारी दिए ।
गत साउन महिनादेखि ‘मेरो कित्ता’ नामक वेबसाइटमार्फत यो सेवा सञ्चालनमा ल्याइएको उनले बताए । यो प्रणाली विशेष गरी दुर्गम तथा ग्रामीण भेगका नागरिकका लागि अत्यन्त उपयोगी भएको कार्यालयको भनाइ छ ।
अनलाइन प्रणालीमार्फत सेवा उपलब्ध गराउँदा समय, खर्च र जनशक्ति बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढेको कार्यालयले जनाएको छ । यसले सेवाग्राहीलाई बिचौलियाको सहारा लिनुपर्ने तथा अनावश्यक खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य गरेको छ ।
प्रणालीमार्फत जग्गाको नक्सा प्राप्त गर्न सेवाग्राहीले जिल्ला, स्थानीय तह, वडा नम्बर र कित्ता नम्बरलगायत विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ । सो विवरणका आधारमा सम्बन्धित नक्सा तुरुन्तै प्रणालीमा देखिने र डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।
डिजिटल सेवाको विस्तारसँगै सरकारी कार्यालयमा हुने भीडभाड घट्नुका साथै कर्मचारीको कार्यक्षमता समेत बढ्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा पनि यो सेवाप्रति चासो बढ्दै गएको छ ।
प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएको युवा पुस्ताले यस सेवाबाट प्रत्यक्ष लाभ लिइरहेका छन् भने अन्य नागरिकलाई अनलाइन प्रणाली प्रयोगबारे जानकारी गराउने कार्य समेत भइरहेको कार्यालयले जनाएको छ ।
आईसीटी समाचार