काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्ने उद्देश्यसहित टेकपाइला इनोभेसनले NCC Education UK सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । यस साझेदारीमार्फत अब नेपालका कक्षा ११ र १२ का विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रियस्तरका साइबर सुरक्षा, एआई (AI) र डाटा साइन्सका कोर्सहरू पढ्न पाउने भएका छन् ।
हालै आयोजित विशेष प्रडक्ट लन्चिङ कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर तथा प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले “डिजिटल नेपालको जग : सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा” विषयमा मुख्य सम्बोधन गरेका थिए ।
उनले यो अभियान नेपालको प्रविधि क्षेत्रमा एउटा कोशेढुङ्गा सावित हुने बताएका छन् । सम्बोधनका क्रममा उनले नेपालको आईटी क्षेत्र वार्षिक २० देखि २५ प्रतिशतले वृद्धि भइरहे पनि ७० प्रतिशत कम्पनीहरूले प्रमाणित जनशक्ति नपाएको तथ्य प्रस्तुत गरे ।
“हाम्रा विद्यार्थीहरू डिजिटल संसारमा रमाउँछन्, तर पाँच प्रतिशतसँग पनि औपचारिक साइबर सुरक्षाको ज्ञान छैन । यो ‘स्किल ग्याप’ अब रहरको विषय होइन, राष्ट्रिय आवश्यकता हो । साइबर सुरक्षा, एआई र डाटा साइन्स अब ऐच्छिक विषय होइनन्, यी २१ औँ शताब्दीका अनिवार्य सीप हुन्,” उनले भने ।

टेकपाइलाले NCC Education UK सँगको सहकार्यमा विश्वका ५० भन्दा बढी देशमा मान्यता प्राप्त तीन प्रमुख कोर्स सुरु गरेको जनाएको छ । जसअन्तर्गत साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डाटा साइन्ससम्बन्धी अध्ययन गराइनेछ ।
कम्पनीले शैक्षिक संस्थाहरूका लागि ‘जिरो सेटअप कस्ट’ मोडल पनि ल्याएको छ । यसअन्तर्गत कम्पनीले नै प्रमाणित प्रशिक्षक र अत्याधुनिक एलएमएस (Learning Management System) उपलब्ध गराउनेछ । जसका कारण बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था नआउने कम्पनीको भनाइ छ ।
यी प्रमाणपत्रहरूले बेलायत, अमेरिका र अष्ट्रेलियाका ७० भन्दा बढी विश्वविद्यालयमा उच्च शिक्षाका लागि भर्ना र ‘क्रेडिट माइलेज’ को अवसर दिने जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले पछिल्लो तीन वर्षमा नेपालको आईटी र एआई सेवा व्यवसाय दोब्बर भएको जानकारी दिए । उनका अनुसार सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबरको रहेको यो क्षेत्र अहिले १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।
“यो क्षेत्र नेपालका लागि जलविद्युतभन्दा पनि छिटो आम्दानी गर्न सकिने क्षेत्र हो,” उनले भने, “यसले युवालाई विदेश पलायन हुनबाट रोक्न र विदेश गएपनि सस्तो श्रम बेच्नुपर्ने अवस्थालाई कम गर्न मद्दत गर्नेछ ।” उनले यो शिक्षा शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताएका छन् ।
त्यस्तै नेपाल टेलिकमका म्यानेजर शालिग्राम पराजुलीले राज्यले नीति, पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका छन् । नयाँ पुस्ताको मुख्य माग रोजगारी, सुशासन र समृद्धि भएकाले ती लक्ष्यहरू आईटी र एआई टुल्समार्फत छिटो हासिल गर्न सकिने उनको भनाइ थियो ।
हिसानका महासचिव रामहरि सिलवालले टेकपाइलाको ‘स्किलिङ, रिस्किलिङ र अपस्किलिङ’ अभियानले युवाहरूलाई प्रविधिको उपभोक्ता मात्र नभई सिर्जनकर्ता बनाउन सहयोग पुग्ने बताए ।
त्यसैगरी डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले टेकपाइलाले विश्वस्तरीय आईटी सेवा तथा उत्पादन विकास गरेर नेपाली प्रविधिलाई विश्व बजारमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले यो पहलले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै नेपाललाई भविष्यमा ‘ग्लोबल टेक हब’का रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आईसीटी समाचार