काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनीमध्ये एक गुगलले आफ्ना नयाँ प्रयोगकर्ताका लागि उपलब्ध गराउँदै आएको निःशुल्क क्लाउड स्टोरेज सेवामा कटौती गर्ने संकेत दिएको छ । हालसम्म नयाँ गुगल एकाउन्ट खोल्ने प्रयोगकर्ताले १५ जिबी नि:शुल्क स्टोरेज पाउँदै आएका भएपनि कम्पनीले केही क्षेत्रहरूमा ५ जिबी सीमा परीक्षण गर्न थालेको जानकारी बाहिरिएको हो ।
सूचनाअनुसार, गुगलले नयाँ नीति अन्तर्गत सीमित प्रयोगकर्तामाझ ५ जिबी नि:शुल्क स्टोरेजको व्यवस्था परीक्षणका रूपमा लागू गरिरहेको छ । यदि यो नीति विश्वव्यापी रूपमा लागू भयो भने गुगल पनि एप्पलको आइक्लाउड र माइक्रोसफ्टको वनड्राइभजस्तै न्यून नि:शुल्क स्टोरेज दिने कम्पनीहरूको सूचीमा पुग्नेछ ।
यद्यपि, कम्पनीले प्रयोगकर्तालाई १५ जिबी स्टोरेज प्राप्त गर्ने विकल्प भने खुला राखेको बताएको छ । त्यसका लागि प्रयोगकर्ताले आफ्नो गुगल खातामा मोबाइल नम्बर जोड्नुपर्नेछ । यसलाई गुगलले सुरक्षा प्रणाली मजबुत बनाउने योजनासँग जोडेको छ ।
कम्पनीका अनुसार फोन नम्बर लिंक गर्दा ‘टु-फ्याक्टर अथेन्टिकेसन’ तथा अन्य सुरक्षा सुविधाको प्रयोग बढ्ने अपेक्षा गरिएको छ । तर प्रविधि विश्लेषकहरूले भने यो परिवर्तनलाई केवल सुरक्षा नीतिसँग मात्र जोडेर हेरेका छैनन् । उनीहरूका अनुसार कम्पनीले प्रयोगकर्तालाई सशुल्क क्लाउड सेवा ‘गुगल वन’ तर्फ आकर्षित गर्ने रणनीतिअन्तर्गत यस्तो कदम चाल्न लागेको हुन सक्छ ।
अहिलेको समयमा उच्च गुणस्तरका फोटो, भिडियो र ठूला फाइलका कारण १५ जिबी स्टोरेज समेत चाँडै भरिने अवस्था रहेको भन्दै ५ जिबी सीमा प्रयोगकर्ताका लागि पर्याप्त नहुने टिप्पणी भइरहेको छ । गुगलले हाल परीक्षणका रूपमा लागू गरिएको यो व्यवस्था कहिलेदेखि विश्वभर विस्तार हुनेछ भन्ने बारे औपचारिक घोषणा गरेको छैन । तर सन् २०२६ को फेब्रुअरीदेखि मार्चबीच यो परिवर्तन परीक्षण चरणमा गएको विभिन्न प्रविधि स्रोतहरूले उल्लेख गरेका छन् ।
आईसीटी समाचार