काठमाडौं । विश्वकै चर्चित राइड-हेलिङ प्लेटफर्ममध्ये एक अमेरिकी कम्पनी उबरले नेपाली बजारमा अनौपचारिक रूपमा प्रवेश गरेको छ । काठमाडौं उपत्यकामा ‘टेस्ट लन्च’ मार्फत सेवा सुरु गर्दै उबरले नेपालमा आफ्नो उपस्थिति विस्तारको संकेत दिएको हो । यससँगै काठमाडौंका यात्रुहरूले अब उबर एपमार्फत विभिन्न गन्तव्यका लागि राइड बुक गर्न सक्ने भएका छन् ।
उबरको नेपाल प्रवेश स्थानीय राइड-हेलिङ कम्पनी ट्याक्सीमाण्डुसँगको रणनीतिक साझेदारीमार्फत भएको हो । ट्याक्सीमाण्डुका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुन केसीका अनुसार हाल सेवा परीक्षण चरणमा सञ्चालन भइरहेको छ र औपचारिक घोषणा केही दिनभित्र गरिने तयारी छ ।
“अहिले हामीले काठमाडौं उपत्यकामा टेस्ट लन्च गरेका छौं । केही दिनभित्रै औपचारिक घोषणा हुनेछ,” सीइओ केसीले आईसीटी समाचारसँगको कुराकानीमा बताए ।
ट्याक्सीमाण्डुसँग साझेदारी
नेपालमा सेवा सञ्चालनलाई प्रभावकारी बनाउन उबरले स्थानीय बजार बुझ्ने र पूर्वाधार भएको कम्पनीसँग सहकार्य गर्ने रणनीति अपनाएको छ । सम्झौताअनुसार उबरले आफ्नो विश्वव्यापी रूपमा स्थापित एप, प्रविधि तथा प्लेटफर्म उपलब्ध गराउनेछ भने नेपालभित्रको सञ्चालन, चालक अनबोर्डिङ, व्यवस्थापन तथा स्थानीय समन्वयको जिम्मेवारी ट्याक्सीमाण्डुले सम्हाल्नेछ ।
केसीका अनुसार पछिल्ला केही दिनदेखि बाइक राइडर, कार तथा ट्याक्सी चालक र यात्रुहरूको दर्ता प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ । “उबरको टेक्नोलोजी र ग्लोबल प्लेटफर्मसँग स्थानीय अपरेसनलाई जोडेर नेपाली बजारअनुकूल सेवा दिने हाम्रो लक्ष्य हो,” उनले भने ।
प्रतिस्पर्धी बजारमा उबरको प्रवेश
काठमाडौं उपत्यकामा यसअघि नै पठाओ, इनड्राइभ र याङ्गोजस्ता राइड-हेलिङ प्लेटफर्मले आफ्नो बलियो उपस्थिति बनाइसकेका छन् । यस्तो अवस्थामा उबरको आगमनले बजारमा प्रतिस्पर्धा थप तीव्र हुने अनुमान गरिएको छ । यसले यात्रुहरूलाई थप विकल्प दिने मात्र नभई सेवा गुणस्तर र मूल्य प्रतिस्पर्धामा समेत प्रभाव पार्न सक्ने देखिन्छ ।
यात्रु आकर्षित गर्न उबरले सुरुवाती चरणमै आफ्नो एपमार्फत छुट अफर पनि सुरु गरेको छ । कम्पनीले प्रयोगकर्ताको एप इन्बक्समा ३० रुपैयाँ र १५ रुपैयाँसम्मको छुट उपलब्ध गराउन थालेको छ ।
पर्यटक लक्षित सेवा
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूका लागि उबरको सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । विश्वका धेरै देशमा उबर प्रयोग गरिरहेका पर्यटकहरूले नेपालमा पनि परिचित प्लेटफर्ममार्फत सहज रूपमा यात्रा गर्न सक्नेछन् ।
सीइओ केसीका अनुसार नेपालमा उबरको उपस्थितिले विशेष गरी अन्तर्राष्ट्रिय यात्रुहरूको यात्रा अनुभव सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
विश्वव्यापी कम्पनी, नेपालमा विस्तारको योजना
सन् २००९ मा स्थापना भएको उबर हाल विश्वका ८० भन्दा बढी देशका १० हजारभन्दा बढी सहरमा सञ्चालनमा रहेको छ । राइड–हेलिङ सेवाका अतिरिक्त कम्पनीले Uber Eats मार्फत खाना डेलिभरी तथा Uber Freight मार्फत सामान ढुवानी सेवा समेत प्रदान गर्दै आएको छ ।
नेपालमा भने कम्पनीले सुरुवाती चरणमा काठमाडौं उपत्यकामा केन्द्रित भएर सेवा विस्तार गरिरहेको छ । भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि सेवा विस्तार गर्ने योजना रहेको सीइओ केसीले जानकारी दिए ।
“अहिले काठमाडौं हाम्रो प्राथमिकता हो । आगामी दिनमा बजारको आवश्यकता र सम्भावनाअनुसार अन्य सहरमा पनि विस्तार गर्ने योजना छ,” केसीले बताए ।
आईसीटी समाचार