कीवर्डहरू -

फेसबुकभन्दा फरक अनुभव दिन मेटाको नयाँ प्रयास, ‘फोरम’ एप परीक्षणमा

फेसबुकभन्दा फरक अनुभव दिन मेटाको नयाँ प्रयास, ‘फोरम’ एप परीक्षणमा

काठमाडौं । पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल प्रयोग गर्ने तरिका तीव्र रूपमा बदलिएको छ । मानिसहरू अब केवल फोटो र भिडियो हेर्न मात्र होइन, आफ्ना रुचि, समस्या र विचार मिल्ने समुदायसँग जोडिन चाहन्छन् । यही बदलिँदो डिजिटल बानीलाई लक्षित गर्दै मेटाले ‘फोरम’ नामक नयाँ एप परीक्षणका रूपमा सार्वजनिक गरेको छ ।

कम्पनीले यसबारे औपचारिक घोषणा नगरेपनि एप स्टोरमा देखिएको यो नयाँ प्लेटफर्मले प्रविधि क्षेत्रमा चासो पैदा गरेको छ । गीकआउट न्युजलेटरका प्रविधि विश्लेषक Matt Navarra ले पहिलो पटक यो एपबारे जानकारी सार्वजनिक गरेका हुन् ।

फेसबुक ग्रुप्सलाई केन्द्रमा राखिएको नयाँ प्लेटफर्म
फोरम एप मूलत: फेसबुक ग्रुप्सको अनुभवलाई अझ व्यवस्थित र केन्द्रित बनाउने उद्देश्यसहित ल्याइएको देखिन्छ । अहिले फेसबुक प्रयोगकर्ताले साथीहरूको पोस्ट, भिडियो, विज्ञापन र विभिन्न सिफारिसबीच समूहका पोस्ट हेर्नुपर्ने अवस्था छ । तर नयाँ एपमा मुख्य ध्यान समूहभित्र भइरहेका वार्तालाप, प्रश्न उत्तर र छलफलमा केन्द्रित हुनेछ ।

एप स्टोरमा दिइएको विवरणअनुसार फोरमलाई “सबैभन्दा महत्त्वपूर्ण वार्तालापका लागि समर्पित स्थान”का रूपमा प्रस्तुत गरिएको छ । यसले प्रयोगकर्तालाई आफ्नो रुचिसँग सम्बन्धित समुदायमा सक्रिय रूपमा जोडिने वातावरण दिने अपेक्षा गरिएको छ ।

रेडिटजस्तै अनुभव दिने प्रयास ?
प्रविधि विश्लेषकहरूका अनुसार फोरमको संरचना केही हदसम्म रेडिट जस्तै देखिन्छ । मेटाले यसलाई “वास्तविक मानिसबाट वास्तविक उत्तर” प्राप्त गर्ने माध्यमका रूपमा प्रस्तुत गरिरहेको छ । यसबाट स्पष्ट हुन्छ कि कम्पनीले फेसबुकको पारम्परिक सामाजिक सञ्जाल मोडलभन्दा बाहिर निस्केर समुदायमा आधारित छलफल प्लेटफर्मतर्फ ध्यान दिन थालेको छ ।

यद्यपि रेडिटमा जस्तो पूर्ण गोपनीयता भने फोरममा नहुने देखिन्छ । प्रयोगकर्ताले गोप्य प्रयोगकर्ता नाम प्रयोग गर्न सक्ने भएपनि समूह प्रशासकले वास्तविक परिचय हेर्न सक्ने व्यवस्था रहने बताइएको छ ।

एआई सुविधाले समूह सञ्चालन सजिलो बनाउने दाबी
नयाँ एपमा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सुविधा पनि समावेश गरिएको छ । ‘आस्क’ नामको फिचरले विभिन्न समूहबाट उत्तर संकलन गरेर प्रयोगकर्ताको प्रश्नको जवाफ दिनेछ ।

यसले एउटै विषयमा जानकारी खोज्न धेरै समूहमा छुट्टाछुट्टै जानुपर्ने झन्झट कम गर्ने मेटाको दाबी छ । त्यस्तै ‘एडमिन असिस्टेन्ट’ नामको अर्को सुविधा समूह सञ्चालकलाई पोस्ट व्यवस्थापन, नियम पालन र समुदाय सञ्चालनमा सहयोगी बन्ने बताइएको छ ।

मेटाको पुरानो प्रयोगको नयाँ संस्करण ?
यो मेटाले समूह केन्द्रित एप ल्याएको पहिलो प्रयास भने होइन । फेसबुक कम्पनीकै नाममा सन् २०१४ मा ‘ग्रुप्स’ नामको छुट्टै एप ल्याइएको थियो । तर अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले उक्त एप सन् २०१७ मा बन्द गरेको थियो ।

यसपटक भने मेटाले एआई, रुचिअनुसार सामाग्री सिफारिस र समुदायमा आधारित डिजिटल अनुभवलाई प्राथमिकता दिएर नयाँ प्रयास गरेको देखिन्छ ।

परीक्षण चरणमै सीमित
हाल फोरम एप परीक्षण चरणमा रहेको कम्पनीले जनाएको छ । मेटाका प्रवक्ताका अनुसार कम्पनीले प्रयोगकर्तालाई कुन प्रकारका सुविधा उपयोगी र आकर्षक लाग्छ भन्ने बुझ्न समय–समयमा नयाँ उत्पादनहरूको सार्वजनिक परीक्षण गर्ने गर्दछ ।

डिजिटल संसारमा समुदायमा आधारित संवादको महत्व बढिरहेका बेला मेटाको यो नयाँ प्रयास सफल हुन्छ कि हुँदैन भन्ने विषय भने आगामी प्रयोगकर्ता प्रतिक्रियाले तय गर्नेछ ।