काठमाडौं । भी-चित्र प्रा. लि. ले गत ३० अप्रिल २०२६ मा भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजित १५ औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा थप दुई स्वर्ण पुरस्कार जित्न सफल भएको छ ।
एजेन्सीले विराटनगर किंग्स NPL सिजन २ को सामाजिक सञ्जाल अभियान तथा नेपाल सुपर लिग सिजन ३ को इभेन्ट व्यवस्थापनमा गरेको उत्कृष्ट कार्यका लागि उक्त सम्मान प्राप्त गरेको हो । यी दुवै अभियानले नेपालको खेल तथा मनोरञ्जन उद्योगमा नयाँ मापदण्ड स्थापित गरेका छन् ।
विराटनगर किंग्सका लागि भी-चित्रले क्रिकेट टोलीको प्रचारमा मात्र सीमित नभई फरक अवधारणासहित अभियान सञ्चालन गरेको थियो । “Kingdom” अवधारणामा आधारित उक्त अभियानमा खेलाडी सार्वजनिक गर्ने कार्यक्रम, मस्कट परिचय, ट्रफी टुर र खेलका मुख्य क्षणहरूलाई एउटै निरन्तर कथाको रूपमा प्रस्तुत गरिएको थियो ।
इन्स्टाग्राम, टिकटक, फेसबुक र युट्युबमार्फत सिजनभरी १,७०० भन्दा बढी सामाग्रीहरू प्रकाशन गरिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसको सार्वजनिक घोषणा यस अभियानको मुख्य आकर्षण बनेको थियो, जहाँ एउटै टिजर पोस्टले ११ लाख भ्यूज प्राप्त गरेको थियो ।

सिजनको अन्त्यसम्ममा यस अभियानले इन्स्टाग्राममा ७ करोड ३९ लाखभन्दा बढी, टिकटकमा २ करोड ९० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भने ४५० भन्दा बढी मिडिया कभरेज हासिल गर्दै बिराटनगर किंग्सलाई लिगकै सबैभन्दा प्रभावशाली डिजिटल फ्रेन्चाइजको रूपमा स्थापित गरेको थियो ।
दोस्रो स्वर्ण पुरस्कार “Uniting Nepal Through Football” अवधारणामा आधारित नेपाल सुपर लिग सिजन ३ को थिम तथा डिजाइनका लागि प्रदान गरिएको थियो । यस अभियान अन्तर्गत दशरथ रंगशालामा २३० भन्दा बढी ब्रान्डिङ सामाग्री प्रयोग गरिएको थियो भने नेपालको खेल इतिहासमै पहिलोपटक सात सहरमा ट्रफी टुर आयोजना गरिएको थियो ।
साथै, रंगशालाको अनुभवलाई डिजिटल माध्यम मार्फत ५० भन्दा बढी देशका दर्शकसम्म पुर्याइएको थियो । खेलको मस्कटका रूपमा अटिजम भएका बालबालिकाको सहभागिताले एकता र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश दिएको थियो, जसले दर्शकमाझ गहिरो प्रभाव पारेको थियो ।
लिग लगातार ३० दिनसम्म राष्ट्रिय ट्रेन्डमा रह्यो, जसले टिकटकमा ४५ करोड ९० लाख भ्यूज र १२ करोड ३४ लाख रुपैयाँ बराबरको पीआर मिडिया भ्यालु सिर्जना गरेको थियो । यी दुवै अभियानले भी-चित्रको खेलकुदसँग सम्बन्धित क्षणहरूलाई सांस्कृतिक रूपमा अर्थपूर्ण र डिजिटल रूपमा प्रभावशाली कथामा रूपान्तरण गर्ने क्षमता झल्काएको छ ।
आईसीटी समाचार