कीवर्डहरू -

इजरायलमा २३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी अनलाइनबाटै दिनुहोस् आवेदन

इजरायलमा २३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी अनलाइनबाटै दिनुहोस् आवेदन

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तथा सुरक्षित गन्तव्यका रूपमा चिनिएको इजरायलले नेपाली कामदारका लागि ठूलो अवसर खुलाएको छ । नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा सहायक कामदार (केयरगिभर) का रूपमा काम गर्न २ हजार ३ सय नेपाली कामदारको माग गरिएको हो ।

वैदेशिक रोजगार विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै कुल मागमध्ये ६० प्रतिशत अर्थात् १ हजार ३ सय ८० जना महिला तथा ४० प्रतिशत अर्थात् ९ सय २० जना पुरुष कामदार छनोट गरिने जनाएको छ ।

छनोटमा परेका कामदारले इजरायलका विभिन्न समूहगत आवास तथा व्यक्तिगत अपार्टमेन्टमा बसोबास गर्ने वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको स्याहार, दैनिक हेरचाह तथा आवश्यक सहयोगसम्बन्धी कार्य गर्नुपर्नेछ ।

null

विभागले उम्मेदवारका लागि निश्चित योग्यता र मापदण्ड तोकेको छ । आवेदन दिन इच्छुक व्यक्तिको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, न्यूनतम उचाइ १.५ मिटर (करिब ४ फिट ११ इन्च) र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्ने व्यवस्था गरिएको छ ।

शैक्षिक योग्यताअनुसार उम्मेदवारले कम्तीमा एसईई (कक्षा १०) उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा न्यूनतम १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ । वैकल्पिक रूपमा, प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने सर्त राखिएको छ ।

यस्तै, आवेदन दिने व्यक्ति यसअघि इजरायलमा काम गर्न नगएको हुनुपर्नेछ । साथै, उनका नजिकका परिवारका सदस्य हाल इजरायलमा बसोबास वा रोजगारीमा संलग्न नरहेको हुनुपर्ने प्रावधान समेत उल्लेख गरिएको छ ।

इजरायल पुगेपछि कामदारले न्यूनतम मासिक ५ हजार ८ सय ८१ इजरायली मुद्रा (नेपाली रुपैयाँमा करिब दुई लाखभन्दा बढी) तलब प्राप्त गर्नेछन् । यसबाहेक ओभरटाइम सुविधा, वार्षिक बिदा तथा खाना सम्बन्धी सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ ।

रोजगारदाताले इजरायली कानुनअनुसार आवासको व्यवस्था गर्ने भएपनि त्यस सम्बन्धी तोकिएको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ । प्रारम्भिक करार अवधि एक वर्षको हुनेछ भने आवश्यकताअनुसार अधिकतम पाँच वर्षसम्म नवीकरण गर्न सकिने व्यवस्था छ ।

इच्छुक र योग्य उम्मेदवारहरूले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन पोर्टल ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन अवधि सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् आगामी २०८३ साल असार ७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ ।

आवेदनका क्रममा राहदानी, हालसालै खिचिएको फोटो, शैक्षिक प्रमाणपत्र, केयरगिभिङ तालिम सम्बन्धी प्रमाणपत्र तथा नेपाल प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) डिजिटल स्वरूपमा अपलोड गर्नुपर्नेछ ।

विभागका अनुसार प्रारम्भिक मापदण्ड पूरा गरेका उम्मेदवारको विवरण ‘नेमचेक’ प्रक्रियाका लागि इजरायल पठाइनेछ । स्वीकृति प्राप्त उम्मेदवारबीच पारदर्शी गोलाप्रथा (लक्की ड्र) मार्फत अन्तिम छनोट गरिने जनाइएको छ ।

विभागले सम्पूर्ण प्रक्रिया प्राविधिक, पारदर्शी र निष्पक्ष हुने दाबी गर्दै हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा, वैदेशिक रोजगार कल्याणकारी कोष शुल्क तथा अभिमुखीकरण तालिम खर्च कामदार स्वयंले बेहोर्नुपर्ने स्पष्ट पारेको छ । साथै, कुनै बिचौलियाको प्रभाव वा प्रलोभनमा नपरी आधिकारिक सूचना र प्रक्रियामा मात्र विश्वास गर्न सबैलाई आग्रह गरेको छ ।