काठमाडौं । नेपालमा विकसित कृत्रिम बुद्धिमत्तामा आधारित वातावरणीय सूचना प्रणाली ‘वायुदृष्टि’ले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ । नेपाली युवाहरूको नेतृत्वमा निर्माण गरिएको यो प्लेटफर्म संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित प्रतिष्ठित ‘एसटिआई सोलुसन बुक २०२६’ मा स्थान बनाउन सफल भएको हो ।
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (यूएन डेसा) ले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न योगदान पुर्याउने विश्वभरका उत्कृष्ट प्रविधिमूलक समाधानहरूको सूची तयार गर्ने क्रममा वायुदृष्टिलाई उत्कृष्ट नवप्रवर्तनमध्ये छनोट गरेको जनाएको छ ।
विश्वका विभिन्न देशबाट प्राप्त ९०० भन्दा बढी आवेदनमध्ये कडा प्राविधिक मूल्यांकनपछि यो परियोजना उत्कृष्ट ६० नवप्रवर्तनमा समावेश भएको हो । नेपालको बोट्स इन्डस्ट्रिज प्रालिले विकास गरेको वायुदृष्टिले वायु प्रदूषणसम्बन्धी जानकारीलाई सहज, वैज्ञानिक र सर्वसुलभ बनाउने लक्ष्य राखेको छ ।
यस प्रणालीले कम लागतका वायु गुणस्तर मापन उपकरण, भू-उपग्रहबाट प्राप्त डाटा, जमिनमा जडान गरिएका सेन्सर तथा एआई विश्लेषण प्रविधिको संयोजनमार्फत वास्तविक समयमै वायुको अवस्था सार्वजनिक गर्दै आएको छ ।
वायुदृष्टिका संस्थापक सक्रिय पाण्डे र सहसंस्थापक श्रीषा पाण्डेले यो उपलब्धिलाई नेपालको प्रविधि क्षेत्रका लागि प्रेरणादायी क्षणका रूपमा वर्णन गरेका छन् ।
यसैबीच, श्रीषा पाण्डे आगामी जुन ११ र १२ मा अमेरिकाको वाशिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयमा आयोजना हुने ‘वल्ड बैंक ग्रुप युथ समिट २०२६’ मा नेपालका तर्फबाट सहभागी हुने भएकी छन् ।
सम्मेलनमा उनले नेपालका युवाहरूको नवप्रवर्तन, डिजिटल अवसर र दिगो विकाससँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने जनाइएको छ ।
विश्व बैंक समूहद्वारा आयोजना हुने उक्त सम्मेलनलाई विश्वभरका युवाहरूलाई जोड्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्चमध्ये एक मानिन्छ, जहाँ १७० भन्दा बढी देशका सहभागीहरू रहनेछन् । वायुदृष्टिको यो उपलब्धिले नेपालजस्ता विकासोन्मुख मुलुकबाट पनि विश्वस्तरीय प्रविधि र समाधान विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
विशेष गरी वायु प्रदूषण, जलवायु परिवर्तन र सार्वजनिक स्वास्थ्यका चुनौती बढिरहेका बेला यस प्लेटफर्मले समुदाय, विद्यालय, अनुसन्धान संस्था, उद्योग तथा सरकारी निकायलाई भरपर्दो वातावरणीय सूचना उपलब्ध गराउने लक्ष्य राखेको छ ।
टोलीले आगामी दिनमा नेपालभित्र र अन्तर्राष्ट्रिय स्तरमा वातावरणीय सूचना सञ्जाल विस्तार गर्दै स्वच्छ हावा, स्वस्थ समुदाय र दिगो भविष्य निर्माणमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
आईसीटी समाचार