काठमाडौं । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न गन्तव्यमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सिसी क्यामेरा र जीपीएस प्रणाली जडान गरिएको छ । साथै यात्रुले अब बसको टिकट अनलाइनमार्फत पनि खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
सरकारले देशभरका सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जीपीएस प्रणाली र सिसी क्यामेरा जडान गर्ने तयारी गरिरहेका बेला पूर्व यातायात व्यवस्थापन प्रालिले आफ्नो मातहतमा सञ्चालित सवारीसाधनमा उक्त प्रणाली कार्यान्वयन गरेको हो ।
प्रालिका अध्यक्ष रजन रोक्काका अनुसार काठमाडौंको नयाँ बसपार्कबाट पूर्वी नेपालका विभिन्न जिल्लामा सञ्चालन हुने ८१ वटा सार्वजनिक सवारीसाधनमा जीपीएस र सिसी क्यामेरा जडान गरिसकिएको छ । काठमाडौं–पूर्व रुटका सार्वजनिक सवारी साधनलाई २०८० साल साउनदेखि एउटै व्यवस्थापन कम्पनीअन्तर्गत सञ्चालन गरिँदै आएको छ ।
हाल उक्त कम्पनीमार्फत तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काँकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर, कटारी, जनकपुर, राजविराज र वीरगञ्ज लगायतका गन्तव्यमा नियमित सेवा सञ्चालन हुँदै आएको छ ।
कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले यात्रु सुरक्षा र सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारले अघि सारेको योजनाअनुसार प्रविधिमैत्री सेवा विस्तार गरिएको बताए ।
उनका अनुसार निकट भविष्यमा कम्पनीका सबै बसमा ‘लगेज ट्याग’ प्रणाली पनि लागू गरिनेछ, जसले यात्रुको सामान व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
यात्रुको सुविधालाई ध्यानमा राख्दै कम्पनीले अनलाइन टिकट बुकिङ सेवा समेत सञ्चालनमा ल्याइसकेको जनाएको छ । यसबाट पूर्वी नेपालका विभिन्न गन्तव्यमा यात्रा गर्ने यात्रुले घरमै बसेर टिकट खरिद गर्न सक्नेछन् ।
आईसीटी समाचार