कीवर्डहरू -

मोबाइल उद्योग सुधार्न क्यान महासंघ र एनएमडिएबीच रणनीतिक सहकार्य

मोबाइल उद्योग सुधार्न क्यान महासंघ र एनएमडिएबीच रणनीतिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रको विकास, नीतिगत सुधार र अवैध मोबाइल कारोबार नियन्त्रणका लागि कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडिए) बीच रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ ।

क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आइतबार आयोजित उच्चस्तरीय छलफलमा दुवै संस्थाका पदाधिकारीहरूले मोबाइल उद्योगसँग सम्बन्धित साझा चुनौतीहरूको समाधान तथा दीर्घकालीन सहकार्यका विषयमा विचार–विमर्श गरेका हुन् ।

छलफलमा मोबाइल क्षेत्रले लामो समयदेखि भोग्दै आएको नीतिगत अस्पष्टता, अनधिकृत रूपमा भित्रिने मोबाइल फोनको कारोबार (ग्रे मार्केट), हार्डवेयर व्यवसायको व्यवस्थापन तथा मोबाइल इकोसिस्टमलाई थप व्यवस्थित बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

null

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सूचना प्रविधि तथा मोबाइल व्यवसाय देशको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र बनिसकेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताए ।

उनले अवैध रूपमा आयात हुने मोबाइल उपकरणका कारण राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको र वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू प्रभावित भइरहेको उल्लेख गरे । यस समस्याको समाधानका लागि सम्बन्धित निकायसँग संयुक्त रूपमा नीतिगत पैरवी गरिने उनको भनाइ छ ।

एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले व्यावहारिक आयात नीति तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि क्यान महासंघसँगको सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

बैठकमा मोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारका लागि सरकारसँग संयुक्त रूपमा पहल गर्ने, ग्रे मार्केट नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने, उपभोक्ता र व्यवसायीको हितलाई ध्यानमा राखेर मोबाइल इकोसिस्टमको नियमनलाई सुदृढ बनाउने तथा दीर्घकालीन सहकार्यका लागि साझा कार्ययोजना तयार गर्ने विषयमा सहमति भएको जनाइएको छ ।

दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा नीतिगत सुझाव, सचेतनामूलक कार्यक्रम तथा व्यवसायिक वातावरण सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस सहकार्यले नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्नुका साथै उपभोक्ताले आधिकारिक वारेन्टीसहितका मोबाइल उपकरण सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।